logo-image

मङ्गलबार, ०२ भदौ २०८३

इण्डोनेसियामा शक्तिशाली भूकम्पः मृतकको संख्या ५४ पुग्यो

मङ्गलबार, ०२ भदौ २०८३ · अन्तर्राष्ट्रिय

इण्डोनेसियामा शक्तिशाली भूकम्पः मृतकको संख्या ५४ पुग्यो

इण्डोनेसिया, भदौ २ । इण्डोनेसियाको इस्ट नुसा टेन्गारा (एनटीटी) प्रान्तमा गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ५४ पुगेको छ । राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी (बीएनपीबी) ले सोमवार यसको पुष्टि गरेको हो । बीएनपीबीका प्रमुख सुहर्यान्तोकाअनुसार अधिकारीहरूले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी राखेका छन् । उद्धार टोलीले भूकम्पमा परी घाइते भएका सयौँ मानिसहरूलाई उपचारका लागि सहायता प्रदान गरिरहेको छ । गत आईतवारसम्मको तथ्याङ्कअनुसार भूकम्पले घर तथा सार्वजनिक संरचनाहरूमा ठूलो क्षति पु¥याउँदा १२ हजारभन्दा बढी मानिस घरबारविहीन भएका छन् । त्यहाँको मौसम विज्ञान, जलवायु तथा भूभौतिक विज्ञान एजेन्सीले पराकम्पन आउने क्रम अझै जारी रहेको जनाएको छ । 
विपद्ग्रस्त क्षेत्रमा राहत सामग्री पु¥याउन र उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले जल, स्थल र हवाई यातायातका साधनहरू परिचालन गरेको छ । सिक्का जिल्लाको पालु टापु जस्ता दुर्गम क्षेत्रमा उद्धार र राहतका लागि ११ वटा विमान तथा हेलिकप्टरहरू प्रयोग गरिएका छन् । 
भूकम्पका कारण माङ्गाराई क्षेत्रीय अस्पतालमा क्षति पुगेपछि स्थानीय स्वास्थ्य सेवा प्रभावित भएको छ । बिरामीहरूको उपचारका लागि बोलो डुकल रङ्गशालामा अस्थायी अस्पताल (फिल्ड हस्पिटल) निर्माणको तयारी भइरहेको अधिकारीहरूले बताएका छन् । 

ताजा समाचार