मङ्गलबार, २६ साउन २०८३
मङ्गलबार, २६ साउन २०८३ · अन्तर्राष्ट्रिय
कोलम्बिया, साउन २६ । कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी अहिलेसम्म १३२ जनाकाे मृत्यु भएको छ भने सयौँ भवनमा क्षति पुगेको छ। धेरै मानिस भग्नावशेषमुनि फसेको आशंका गरिएको छ। आफन्त तथा उद्धारकर्मीहरू भग्नावशेष पन्छाउँदै उनीहरूको खोजीमा जुटिरहेका छन्।
देशको तेस्रो ठूलो शहर कालीमा उद्धार टोली र स्थानीय बासिन्दाहरू ध्वस्त भवनका भग्नावशेषमा जीवित मानिसको खोजी गरिरहेका छन्। स्वयंसेवकहरूको लामो पंक्तिबाट कंक्रिटका ठूला टुक्रा तथा अन्य भग्नावशेष एकअर्कालाई हस्तान्तरण गर्दै हटाउने काम भइरहेको छ।
उद्धारको अवस्था निकै दर्दनाक रहेको बताउँदै स्थानीय बासिन्दा अल्भारो लोपेजले आफ्नो कुकुरलाई काखमा लिएर खोजी कार्य हेरिरहेका थिए। उनले भने, “हाम्रो भवन लगभग पूर्ण रूपमा भग्नावशेषमा परिणत भएको छ। हाम्रो छेउको भवन त पूर्ण रूपमा भत्किएको छ।”
उक्त दृश्यले छिमेकी देश भेनेजुएलामा केही साताअघि गएको दुई शक्तिशाली भूकम्पपछि अझै जारी रहेको खोज तथा उद्धार अभियानको सम्झना गराएको छ।
कालीबाहेक पश्चिमी कोलम्बियाका पेरेइरा, क्विब्दो र मानिजालेस लगायतका शहरमा पनि भूकम्पले ठूलो क्षति पुर्याएको छ। भूकम्पको धक्का छिमेकी इक्वेडर र पानामासम्म समेत महसुस गरिएको थियो।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु राजधानी बोगोटाबाट करिब ४०० किलोमिटर पश्चिममा रहेको चोको क्षेत्रको सान होसे डेल पालमारमा थियो। उक्त क्षेत्रमा करिब ४,८०० मानिस बसोबास गर्छन्।
कोलम्बियाका राष्ट्रपति अबेलार्डो दे ला एस्प्रिएलाका अनुसार भूकम्पमा कम्तीमा ८७ जना घाइते भएका छन् भने करिब १,६०० भवनमा क्षति पुगेको छ। तीमध्ये कम्तीमा ६१ वटा भवन पूर्ण रूपमा भत्किएका छन्।
भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण तथा उद्धार कार्यका लागि आवश्यक बजेट छिटो उपलब्ध गराउन राष्ट्रपतिले आपत्कालीन अवस्था घोषणा गरेका छन्।
राष्ट्रपति एस्प्रिएलाले भने, “हामी मानिसहरूलाई एक्लै छाड्ने छैनौँ। उनीहरू हाम्रो हृदयमा छन् र हामी पूर्ण दृढताका साथ उनीहरूको सहयोग र उद्धारमा जुट्नेछौँ।”