logo-image

आइतबार, ०३ जेठ २०८३

थानकोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार हुँदा एक जनाको हत्या, आरोपी नियन्त्रणमा

आइतबार, ०३ जेठ २०८३ · समसामयिक

थानकोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार हुँदा एक जनाको हत्या, आरोपी नियन्त्रणमा

काठमाडौं, जेठ ३ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा चक्कु प्रहार हुँदा एक जनाको हत्या भएको छ।

महोत्तरी घर भई हाल थानकोट बस्दै आएका अन्दाजी ३८ वर्षीय समी अहमदले आफ्नै सालो नाता पर्ने २५ वर्षीय जाकिर मन्सुरीमाथि तरकारी काट्ने चक्कु प्रहार गरेका हुन्। पारिवारिक विवाद उग्र बन्दै गएपछि अहमदले मन्सुरीमाथि धारिलो चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ।

चक्कु प्रहारबाट गम्भीर घाइते भएका मन्सुरीलाई तत्काल उपचारका लागि सतुङ्गलस्थित मेडपोइन्ट अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा चिकित्सकले गएराति साढे ९ बजे उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन भट्टराईले जानकारी दिनुभयो।

घटनालगत्तै चक्कु प्रहार गर्ने समी अहमदलाई प्रहरी वृत्त थानकोटले नियन्त्रणमा लिएको छ। मृतक मन्सुरीको शवलाई घटनास्थल जाँच मुचुल्कापछि पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल (टीचिंग), महाराजगञ्ज पठाइएको छ। घटनाको सम्बन्धमा थानकोट प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

ताजा समाचार