logo-image

सोमबार, १८ जेठ २०८३

एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा

सोमबार, ०९ चैत २०८२ · समसामयिक

एनआरएनए फ्रान्सको विवाद मिल्यो, अध्यक्ष डा. शर्मा पेरिसमा


काठमाडौं, चैत्र ९ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्मा पनि एकताको सुरुआत भएको छ । एनआरएनए फ्रान्समा लामो समयदेखि चलेको विवाद अन्त्य भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्मा को उपस्थितिमा आइतबार साँझ भएको भेलाले दिलीप गुरुङको नेतृत्वमा एकीकृत एनआरएनए फ्रान्सको कार्यसमिति चयन गरेको छ । अन्तर्राष्ट्रिय समन्वय परिषद्को मार्च १४–१६, काठमाडौँमा सम्पन्न १२ औँ वृहत् एकता महाधिवेशनपछि डा. शर्मा सर्वसम्मत अध्यक्ष चयन भएका थिए । त्यसपछि समानान्तर गतिविधि गर्दै आएका एनसीसीहरुको एकता प्रक्रिया सुरु भएको हो । 

काठमाडौँमा ‘फेस–टु–फेस’ मिटिङ सकेर अध्यक्ष डा. शर्मा सिधै फ्रान्स पुगेका थिए । त्यहाँ दिलीप गुरुङ र मीन श्रेष्ठ नेतृत्वको दुई कार्यसमिति मर्ज भएका छन्। समझदारी अनुसार दिलीप गुरुङले एनसीसीको नेतृत्व गर्नेछन् भने मीन श्रेष्ठलाई आइसिसी सदस्य बनाउने सहमति भएको छ ।

कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा राजेन्द्र श्रेष्ठ र लाल बहादुर सोडारी, महासचिवमा राजु बस्नेत, कोषाध्यक्षमा समीक्षा थापा, सचिवमा नीरजचन्द्र सोडारी र जीत कुमार विश्वकर्मा, महिला उपाध्यक्षमा नीलिमा शाही र विष्णु शाही, खुल्ला उपाध्यक्षमा सरोज अधिकारी, सह कोषाध्यक्षमा श्रवण कुमार मैनाली, महिला संयोजकमा यमकला पौडेल र किरण चालिसे, युवा संयोजकमा मिलन रसाइली, सदस्यमा मनोज गुरुङ, विष्णु दुवाडी, सन्दीप गुरुङ, रम्भा तामाङ, दीपेन्द्र लामा, कृष्ण महर्जन र रम्ना राई रहेका छन्। आइसिसी सदस्यमा लोक बहादुर पुन चयन भए भने शिवराम भण्डारीलाई पछि मनोनयन गर्ने प्रस्ताव गरिएको छ ।

अध्यक्ष डा. शर्मा भन्छन्, “आइसिसी एकता भएपछि एनसीसीको एकता मेरो प्राथमिकतामा रहेको छ । फ्रान्सबाट सुरु भएको एनसीसी एकता प्रक्रिया अन्य देशमा पनि चाँडै सुरु हुने विश्वास छ ।“ उनले एनआरएनए फ्रान्स मिलाउन सहयोग गर्ने संस्थापक तथा पूर्व अध्यक्षहरूलाई धन्यवाद दिएका छन् । 

यसअघि नोभेम्बर ३० मा केन्द्रमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता प्रक्रिया सुरु भएको थियो। त्यसपछि मार्च १४–१६ मा एकता महाधिवेशन सम्पन्न भएको थियो र सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश दिन प्रयास गरिएको थियो । 

ताजा समाचार