बिहिबार, २४ वैशाख २०८३
बिहिबार, २४ वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख २४ । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले विश्वका विभिन्न देशमा रहेका नेपाली चिकित्सकको लाईसेन्स खारेज गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णयप्रति आपत्ति जनाउँदै सो निर्णय तत्काल फिर्ता लिन नेपाल सरकारसँग माग गरेको छ ।
एनआरएनले मेडिकल काउन्सिलको सो निर्णय विदेशमा रहेका नेपालीहरुको दक्षता र लगानी मुलुकको समृद्धिका लागि उपयोग गर्ने नीति विपरित रहेको उल्लेख गर्दै उक्त निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेको हो । नेपालको समृद्धिका लागि सहकार्य गर्ने एनआरएनएको अभियानमा समेत सो निर्णयले गम्भिर ठेस पु¥याएकाले सरकारलाई सो निर्णय तत्काल फिर्ता लिन अनुरोध गरिएको एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले बताउनु भयो । उहाँले विश्वका विभिन्न भागमा रहेर नेपालको सेवामा समर्पित भएका कुनैपनि क्षेत्रका विज्ञहरुको भावनामाथि चोट पु¥याउन काम नगर्न पनि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ । सापकोटाले ३३ जना नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने काउन्सिलको निर्णयले सम्बन्धित चिकित्सकहरूको पेशागगत भविष्यमा मात्र नभई विदेशमा कार्यरत सम्पूर्ण नेपाली चिकित्सक समुदायको मनोबलमा नकारात्मक प्रभाव पारेको बताउनु भयो । संविधानले गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गरिसकेको अवस्थामा बसोबासको आधारमा मात्र पेशागत पहिचान खोस्नु न्यायोचित नभएको संघको ठहर छ । प्रवक्ता सापकोटाकाअनुसार चिकित्सा पेसा जस्तो संवेदनशील क्षेत्रमा यस्तो कठोर निर्णय लिनुअघि सम्बन्धित पक्षसँग परामर्श, स्पष्ट आधार र प्रक्रियागत पारदर्शिता अपनाउनुपर्ने थियो । तर सम्बन्धित चिकित्सकहरूसँग कुनै समन्वय वा पूर्वजानकारी बिना नै गरिएको लाइसेन्स खारेजीको प्रक्रियाप्रति संघले आपत्ति जनाएको छ ।
प्रवक्ता सापकोटाले भन्नुभयो,‘मेडिकल काउन्सिलले विश्वका विभिन्न देशहरुबाट नेपालको चिकित्सकसँग जोडिएका उच्च र दक्ष चिकित्सकहरु जो मेडिकल काउन्सिलमा हुनुहुन्थ्यो । उहाँहरुको सेवाको विषयलाई लिएर जुन मेडिकल काउन्सिलले उहाँहरुलाई हटाएको छ । यसमा हामीलाई गैरआवासीय नेपाली संघको तर्फबाट हाम्रो एउटा समिति पनि छ । विशेष गरी विश्वका विभिन्न देशहरुमा चिकित्सक सेवासँग जोडिनु भएका जुन एक्पपर्टहरु हुनुहुन्छ । यो अत्यन्तै चिन्ताजनक र देशलाई स्किल नलेज ट्रान्सपर गर्ने जुन जुन नीति राज्यको छ । त्यो भन्दा विपरितभयो भन्ने मलाई लाग्दछ । र, संसारभर रहेका एक्सपर्टहरुलाई यस्ता खालको निर्णयहरुले राज्यले गर्ने निर्णयले निरुत्साहित गर्छ । त्यसैले हामी सरकारलाई यस्ता खालको निर्णय गर्दा संयम हुन, सम्बन्धित पक्षसँग सम्वाद गर्न नीतिगत रुपमा पनि यस्ता कुरालाई प्रष्ट पार्न अनुरोध गर्दछौ । यो चिकित्सक मात्रै नभएर अन्य विश्वका विभिन्न देशमा नेपालका विभिन्न विधाका एक्सपर्टहरु हुनुहुन्छ । उहाँहरु गैर आवासीय नेपाली संघमा आवद्ध हुनुहुन्छ । हाम्रो स्किल, नलेज र रिर्सोसेसहरुलाई यो देशसँग जोडन चाहन्छौ । हामी भूगोगको हिसावले नेपाल भन्दा बाहिर भएपनि यो समृद्ध नेपाल निर्माण गर्ने अभियानमा गैर आवासीय नेपालीसँग सँगै हिँडन तत्पर छ ।
यद्यपि यस्ता खालको निर्णयहरुले हामीलाई चोट पु¥याएको छ, ठेस पु¥याएको छ । म फेरि पनि सरकारसँग ३३ जना एक्सपर्ट जुन मानव सेवासँग जोडिएका विज्ञहरुलाई जो नेपालको सेवामा समर्पित हुनुुहुन्थ्यो । उहाँहरुलाई हटाउने जुन निर्णय मेडिकल काउन्सिलले गरेको छ । यो निर्णय सच्याउन हामी अनुरोध गर्दछौँ ।’
एनआरएनएले विदेशमा रहेका नेपालीहरुको बारेमा निर्णय लिँदा सम्बन्धित पक्षसँग सम्वाद गरेर मात्रै गर्न उपयुक्त हुने राय पनि सरकारलाई दिएको छ । प्रवक्ता सापकोटाले विश्वका विभिन्न मुलुकमा रहेका नेपाली विज्ञहरुबारे राज्यले गर्ने निर्णय उनीहरुलाई निरुत्साहित गर्ने खालको हुन नहुने पनि स्मरण गराउनु भयो । –न्युज एजेन्सी नेपाल