logo-image

आइतबार, १४ असार २०८३

वैदेशिक रोजगारीमा नयाँ श्रम स्वीकृति लिने घट्दै, १० महिनामा १९ प्रतिशतले कमि

बिहिबार, ११ असार २०८३ · अर्थ

काठमाडौं  असार  ११ ।  वैदेशिक रोजगारीका लागि मरुभूमि र विदेशी भूमिमा पसिना बगाउन जाने नेपाली युवाको लर्कोमा  'ब्रेक' लाग्ने देखिएको छ। विगतका वर्षहरूमा दिनप्रतिदिन विदेशिनेको संख्याले नयाँ रेकर्ड कायम गरिरहँदा पछिल्लो तथ्यांकले भने घटेको देखाएको छ । चालु आर्थिक वर्षको पहिलो १० महिना वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपाली युवाको संख्यामा १९ प्रतिशतले भारी गिरावट आएको छ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष (०८१/८२) को साउन-जेठ अवधिमा ४ लाख ५२ हजार ३ सय ११ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए। तर, चालु आर्थिक वर्षको सोही अवधिमा यो संख्या ८५ हजार २ सय ११ ले घटेर मात्र ३ लाख ६७ हजार १ सयमा खुम्चिएको छ।

गत असार महिनामा मात्रै ५३ हजार ६ सय ४६ जना युवाले श्रम स्वीकृति लिएर इतिहासकै उच्च रेकर्ड राखेका थिए। तर, चालु आर्थिक वर्षको कुनै पनि महिनाले त्यो तथ्यांकलाई भेट्न सकेनन्। साउन, भदौ र वैशाखमा मात्रै विदेश जानेको संख्या ४० हजार कटे पनि बाँकी ७ महिनामा यो संख्या २२ देखि ३१ हजारको बीचमै सीमित रह्यो।वैशाखको तुलनामा जेठ महिनामा मात्रै नयाँ श्रम स्वीकृति लिनेको संख्या ९ हजार ६ सय २३ ले घटेको छ। जेठमा जम्मा ३१ हजार ७ सय १ जनाले मात्र नयाँ श्रम स्वीकृति लिएका छन्, जसले युवाहरू विदेशिने क्रम महिनैपिच्छे खस्किँदै गएको पुष्टि गर्छ। जेठ महिनामा विदेशिनेमध्ये सबैभन्दा बढी (करिब ९ हजार) को रोजाइ मलेसिया बनेको छ।

युवाहरूमा वैदेशिक रोजगारीप्रतिको मोह ह्वात्तै घटेर यो संख्या ओरालो लागेको भने होइन।  नेपाली श्रमिकका प्रमुख गन्तव्य मुलुकहरू (यूएई, साउदी अरब, कतार, कुवेत, मलेसिया, दक्षिण कोरिया, जापान, रोमानिया, क्रोएसिया र बहराइन) मा आएको आर्थिक सुस्तता यसको मुख्य कारण हो।

विशेषगरी पश्चिम एसियाली (खाडी) मुलुकहरूमा निर्माण, सेवा र औद्योगिक क्षेत्र शिथिल बन्दा नेपाली श्रमिकको मागमा प्रत्यक्ष असर परेको छ। अन्तर्राष्ट्रिय बजारमा रोजगारीका अवसरहरू संकुचित हुँदै जाँदा नेपालबाट जाने श्रमिकको संख्या पनि स्वतः घट्न पुगेको हो।

रेमिट्यान्सको भरमा टिकेको अर्थतन्त्रका लागि श्रम स्वीकृतिमा आएको यो गिरावटले कस्तो असर पार्छ, त्यो त भविष्यले देखाउला। तर, बदलिँदो श्रम बजारको यो प्रवृत्तिले नेपाललाई आफ्नै घरेलु रोजगारी बलियो बनाउन ठूलो दबाब र अवसर दुवै दिएको छ।

ताजा समाचार