बिहिबार, ०१ असोज २०८३
बिहिबार, ०१ असोज २०८३ · राजनीति
काठमाडौं, असोज १ । नेपालले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति, जलवायु न्याय, जलवायु वित्त तथा हिमाली क्षेत्रमा परेको असरलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले बिहीवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा नेपालले महासभामा उठाउने विषयबारे जानकारी दिँदै जलवायु संकटका कारण नेपालले भोगिरहेको जनधनको क्षतिबारे विश्व समुदायको ध्यानाकर्षण गराइने बताउनुभएको हो । उहाँकाअनुसार संयुक्त राष्ट्रसंघका ६ प्रमुख अंगमध्ये एक रहेको महासभामा १९३ वटै सदस्य राष्ट्रले ‘एक राष्ट्र, एक मत’को आधारमा सार्वभौमिक समानताको अभ्यास गर्छन् । महासभाले विश्वका महत्वपूर्ण विषयमा छलफल, नीति निर्माण तथा बहुपक्षीय सहकार्य प्रवद्र्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा काम गर्दै आएको उहाँले बताउनु भयो । सचिव राईले महासभाले साना तथा विकासोन्मुख राष्ट्रलाई आफ्ना राष्ट्रिय हित र एजेण्डा विश्व मञ्चमा प्रश्तुत गर्ने अवसर दिने उल्लेख गर्दै नेपालजस्ता भूपरिवेष्ठित तथा अतिकम विकसित मुलुकका लागि यसको महत्व अझ बढी रहेको बताउनु भयो । राईकाअनुसार संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा नेपालबाट प्रधानमन्त्री बालेन्द्र साहको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुनेछ । महासभाको उच्चस्तरीय सप्ताहअन्तर्गत हुने जनरल डिबेटमा प्रधानमन्त्री साहले सम्बोधन गर्ने कार्यक्रम तय भएको उहाँले जानकारी दिनुभयो । भ्रमणका क्रममा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको उहाँले बताउनु भयो । सचिव राईकाअनुसार प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलगायत सहभागी हुनेछन् । नेपाली प्रतिनिधिमण्डल सेप्टेम्बर २२ मा न्युयोर्कतर्फ प्रस्थान गरी सेप्टेम्बर २६ मा स्वदेश फर्किने कार्यक्रम रहेको राईले समितिलाई जानकारी गराउनु भयो ।
प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री र प्रधानमन्त्रीको प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार सहभागी हुने
नेपालले जलवायु परिवर्तनबाट भएको क्षतिका लागि ‘फण्ड फर रेस्पोन्डिङ टु लस एण्ड ड्यामेज’ लगायतका संयन्त्रबाट तत्काल र उचित वित्तीय सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्ने राईले बताउनु भयो । जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्युनिकरण तथा अनुकूलनका लागि नेपाललाई जलवायु उत्थानशील पूर्वाधार, जलवायु स्मार्ट कृषि, प्रविधि हस्तान्तरण र क्षमता विकासमा आवश्यक सहयोग उपलब्ध गराउन विकसित मुलुकलाई अपिल गरिने उहाँले जानकारी दिनुभयो । नेपालले जलवायु न्यायको विषयलाई वैज्ञानिक प्रमाण र नेपालको वास्तविक जोखिमसँग जोडेर अन्तर्राष्ट्रिय मञ्चमा प्रश्तुत गर्ने तयारी गरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘यस महासभाका क्रममा नेपालले सगरमाथा टु द सीः अ कल टु एक्शन फर क्लाइमेट रिजिलियन्ट फ्युचर विषयक उच्चस्तरीय साइड इभेन्ट आयोजना गर्दैछ । विश्वव्यापी जलवायु परिवर्तनका कारण, विशेषगरी हिमाली क्षेत्रमा परेको नकारात्मक प्रभाव र त्यसबाट सिर्जित विनाशकारी परिणामबारे छलफल गर्दै विश्व समुदायको ध्यानाकर्षण गराउनु उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । महासभाका क्रममा आयोजना हुने अतिकम विकसित मुलुक, भूपरिवेष्ठित विकासोन्मुख मुलुक, असंलग्न मुलुक, ग्रुप अफ ७७ एन्ड चाइना लगायतका मन्त्रीस्तरीय बैठकहरूमा माननीय परराष्ट्रमन्त्रीज्यूको सहभागिता रहनेछ । साथै, संयुक्त राष्ट्र संघद्वारा आयोजित विभिन्न उच्चस्तरीय छलफल तथा साइड इभेन्टहरूमा उहाँले सम्बोधन गर्नुहुनेछ । यसै क्रममा माननीय परराष्ट्रमन्त्रीज्यूले छिमेकी मुलुकलगायत विभिन्न मित्रराष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्र संघका उच्चस्तरीय पदाधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रमसमेत रहेको छ । संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलमा माननीय परराष्ट्रमन्त्रीज्यू, सम्माननीय प्रधानमन्त्रीज्यूका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलगायतका प्रतिनिधिहरू संलग्न हुनुहुनेछ । सम्माननीय प्रधानमन्त्रीज्यू नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै २०८३ असोज ६ गते (२२ सेप्टेम्बर २०२६) न्युयोर्कतर्फ प्रस्थान गरी २०८३ असोज १० गते (२६ सेप्टेम्बर २०२६) स्वदेश फर्किने कार्यक्रम रहेको व्यहोरा माननीयज्यूहरूलाई अवगत गराउन चाहन्छु ।’
नेपालले विश्व वातावरण संरक्षणमा आफ्नो योगदानसमेत महासभामा प्रश्तुत गर्ने भएको छ । सचिव राईकाअनुसार नेपालले प्रकृतिमैत्री जीवनशैली, ४० प्रतिशतभन्दा बढी वन क्षेत्र, विशाल हिमालय क्षेत्र तथा विस्तृत नदी प्रणालीमार्फत विश्व वातावरण संरक्षणमा पु¥याउँदै आएको योगदानबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनेछ । उहाँले जलवायु संकटको असर भोगिरहेको नेपालले वातावरण संरक्षणमा गरेको योगदानको उचित अन्तर्राष्ट्रिय मान्यता र सहयोगको विषय पनि उठाउने बताउनु भयो । महासभाका क्रममा नेपालले ‘सगरमाथा टु द सीः अ कल टु एक्सन फर क्लाइमेट रिजिलियन्ट फ्युचर’ विषयमा उच्चस्तरीय साइड इभेन्ट आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा विश्वव्यापी जलवायु परिवर्तनका कारण विशेषगरी हिमाली क्षेत्रमा परिरहेको असर, हिमाली पारिस्थितिक प्रणालीमा देखिएका परिवर्तन तथा त्यसबाट सिर्जित जोखिमबारे छलफल गरिनेछ । हिमाली क्षेत्रको जलवायु संकटबारे विश्व समुदायको ध्यानाकर्षण गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको सचिव राईले बताउनु भयो । –न्युज एजेन्सी नेपाल