logo-image

शुक्रबार, १६ असोज २०८३

वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग

शुक्रबार, १६ असोज २०८३ · राजनीति

वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग

 

काठमाडौं, असोज १६ । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा मेडिकल शिक्षाको नाममा चरम बेथिति र नक्कली प्राध्यापक खडा गरी ‘गोरखधन्दा’ चलाइएको भन्दै संसदमा प्रश्न उठेको छ । 
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रहबर अन्सारीले शुक्रवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै कलेज प्रशासनको गैरकानुनी गतिविधिले विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद अन्सारीकाअनुसार नेशनल मेडिकल कलेजले झन्डै २५ जना नक्कली प्राध्यापक खडा गरी पोस्ट ग्राजुएट (पीजी) सिट लिएको छ । कलेजको यस्तो अवैध धन्दाविरुद्ध आवाज उठाउने विद्यार्थीहरूलाई विगत १० दिनदेखि होस्टेलबाट निकालिनुका साथै कलेज प्रवेशमा समेत रोक लगाइएको छ । 
सदनमा बोल्दै सांसद अन्सारीले चिकित्सा शिक्षा आयोगको निरीक्षण टोली आउँदा सुरक्षा गार्डहरूलाई बिरामी बनाएर बेडमा सुताउने र नक्कली प्राध्यापकहरू देखाएर राज्यलाई झुक्याउने काम भइरहेको दाबी गर्नुभयो । यति मात्र होइन, कलेजले नेपाली विद्यार्थीसँग प्रति विषय पास गराइदिने नाममा ३ लाख र विदेशी विद्यार्थीसँग ५ लाख रुपैयाँसम्म असुल्ने गरेको र सो रकम लिने बित्तिकै उत्तरपुस्तिकामा आफैँ उत्तर भरेर पास गराइदिने गरेको समेत उहाँले आरोप लगाउनु भयो । विगतका सत्तासीनहरूको आडमा कलेज सञ्चालकहरूले राज्य संयन्त्रलाई प्रभावमा पारेका कारण कारबाही नभएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘यो मुन्ना भाइ फिल्मको कथा जस्तै रमाइलो लाग्न सक्छ, तर वास्तविकतामा यस्ता घटनाले सिंगो राज्यको स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उब्जाएको छ । मेरिटोक्रेसीको आधारमा काम गरिरहेको वर्तमान सरकारले तत्काल छानबिन गरी ती विद्यार्थीहरूको व्यवस्थापन अन्य कलेजमा गर्नुपर्छ ।’

ताजा समाचार