सोमबार, २१ वैशाख २०८३
सोमबार, २१ वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख २१ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा कार्यालयहरूमा छापा मारेको छ। अवैध सम्पत्ति लुकाएको र आर्जन गरेको आशंकामा विभागले सोमबार एकसाथ यो कारबाही अघि बढाएको हो।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका मुख्यमन्त्री बानियाँको हेटौँडास्थित सानोपोखरामा रहेको 'बानियाँ निर्माण सेवा' को कार्यालय र त्यहीँ रहेको उनको घरमा विभागको टोलीले खानतलासी गरेको थियो। विभागको टोलीले खानतलासी गरी त्यहाँबाट आवश्यक कागजातहरू नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
उनी केही वर्षअघिसम्म निर्माण व्यवसायी कम्पनीमा आबद्ध थिए भने अहिले पनि विभिन्न व्यावसायिक कम्पनीहरूमा उनको लगानी रहेको स्रोतको भनाइ छ। विभागले उनको आर्थिक कारोबार र सम्पत्तिको स्रोतका विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।