logo-image

बुधबार, २१ असोज २०८३

निष्ठावान् युवा नेता भिम सिंह गुरुङद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा

मङ्गलबार, २० असोज २०८३ · राजनीति

निष्ठावान् युवा नेता भिम सिंह गुरुङद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा

 

काठमाडौं, असोज २० । नेपाली कांग्रेसका लामो समयदेखि निष्ठापूर्वक सक्रिय नेता भिम सिंह गुरुङले पार्टीको आगामी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। नेपाल विद्यार्थी संघ (नेविसंघ) हुँदै कांग्रेसको मूल राजनीतिमा प्रवेश गरेका गुरुङ लोकतान्त्रिक आन्दोलन र संगठनभित्र एक परिचित र ऊर्जावान् व्यक्तित्व हुन्।

गुरुङले वि.सं. २०४४ सालदेखि विद्यार्थी राजनीतिमार्फत आफ्नो राजनीतिक यात्रा आरम्भ गरेका हुन्। उनी नेपाल विद्यार्थी संघमा तीन कार्यकाल विभिन्न जिम्मेवारी सम्हाल्दै सहमहामन्त्रीसमेत भइसकेका छन्। विद्यार्थी राजनीतिपछि कांग्रेसको मूल प्रवाहमा होमिएका गुरुङले पार्टीका विभिन्न आन्दोलन, वैचारिक बहस र संगठनात्मक गतिविधिमा अग्रमोर्चामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् भने उनी यसअघि पार्टीको महासमिति सदस्यसमेत भइसकेका छन्।

लामो राजनीतिक यात्राका क्रममा पार्टीको विचार, सिद्धान्त र लोकतान्त्रिक आदर्शप्रति सधैँ अडिग रहँदै आएका गुरुङ युवामाझ ‘भिम दाइ’ का रूपमा परिचित छन्। युवाहरूसँग निरन्तर हातेमालो गर्दै आएका उनी नयाँ पुस्तालाई कांग्रेसको मूलधारमा जोड़्नुपर्ने स्पष्ट दृष्टिकोण राख्छन्। पार्टी संगठनलाई थप बलियो र गतिशील बनाउन युवाको सक्रिय सहभागिता र नेतृत्व विकास अपरिहार्य रहेको उनको जोड छ।

राजनीतिक यात्रामा कहिल्यै विचलन नआएका गुरुङले निष्ठा, निरन्तरता र वैचारिक स्पष्टतालाई आफ्नो मुख्य पुँजी बनाएका छन्। पार्टीमा नयाँ पुस्ताको आकर्षण बढाउँदै लोकतान्त्रिक मूल्य–मान्यतालाई थप सबल बनाउने प्रतिबद्धतासहित उनी महाधिवेशनमा प्रस्तुत भएका छन्।