logo-image

मङ्गलबार, २० असोज २०८३

महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’

मङ्गलबार, २० असोज २०८३ · समसामयिक

महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’

 

काठमाडौं, असोज २० ।  नेपाली काँग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीभित्र अझैपनि महिलाहरुको अर्थपूर्ण सहभागिता हुन नसकेको बताउनुभएको छ । 
काँग्रेसको १५ औँ महाधिवेशनमा महिला तर्फबाट महामन्त्री पदमा उम्मेदवारी दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पार्टीको शुद्धीकरणसँगै महिलासहित सबै समावेशी समूहको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताउनु भयो । पार्टीले संविधानमा स्वीकार गरेको समावेशी सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गर्न नसकेको उहाँको भनाई छ । काँग्रेसले लिएको समावेशी सिद्धान्तलाई पार्टीको संगठनमा समेत प्रत्याभूत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सबै समूह र विचारलाई समेट्ने पार्टी निर्माण आफ्नो मुख्य प्रतिबद्धता रहेको उहाँको भनाई छ ।
उहँले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टीको शुद्धिकरण, सङ्गठन शुद्धिकरण र महिलाहरूको नेतृत्व तहमा पुगेर महिलाहरूको सहभागिता, अर्थपूर्ण सहभागिताको लागि मैले महामन्त्रीमा उम्मेद्वारी दिएको हुँ ।  महिलाहरूको अधिकारलाई संरक्षण गर्दै हिजो हामीले संविधान सभामा बसेर लेख्यौँ । तर पार्टी भित्र महिलाहरूको अर्थपूर्ण सहभागिता नहुँदा कार्यान्वयन पक्ष फितलो भएको छ । नेपाली काँग्रेसले लिएको सिद्धान्त भनेको समावेशीको सिद्धान्त हो, त्यही नेपाली काँग्रेसको सिद्धान्तलाई नै अहिले हामीले संविधानमा लेख्यौँ तर पार्टीमा हामीले त्यसलाई प्रत्याभूति गराउन सकेनौँ । त्यसकारण मेरो प्रतिबद्धता भनेको तमाम समावेशीहरूको सबैको विचार सबैको विचारलाई समेट्ने एउटा पार्टी बनाउनुपर्छ भन्ने हो ।’
उहाँले देशभरबाट आएको माग र आवश्यकता सम्बोधन गर्न कांग्रेसको पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको बताउनु भयो । यस सन्दर्भमा पार्टीभित्र भने आलोचना भइरहेको उहाँको भनाई छ । यदपी अन्य राजनीतिक पार्टीको तुलनामा भने अझै पनि काँग्रेसको संख्या कम रहेको उहाँको दाबी छ । ठूलो संख्याको केन्द्रिय समितिले प्रभावकारी रूपमा काम गरेर पार्टी निर्माणमा परिणाम दिनसके त्यसप्रतिको विरोध अन्त्य हुने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको आवश्यकता र माग बमोजिम देशभरीबाट केन्द्रिय समितिमा काम गर्छु भन्नेको संख्या बढेको भएर केही संख्या बढाइएको हो । अन्य राजनीतिक पार्टीभन्दा हाम्रो कमै छ, अहिले पनि । अन्य राजनीतिक पार्टीको तुलना गर्ने हो भने हाम्रो सङ्ख्या अहिले पनि कम छ तर यसलाई पक्कै पनि तपाईंले भनेको केही ठुलो भयो भन्ने जनआवाज छ, पार्टी भित्र आवाज उठेको छ । भोलि यति सङ्ख्याले काम गर्दा साँच्चिकै पार्टी बन्दो रहेछ भन्ने प्रत्याभूति गराउन सकियो भने यो विरोधाभास अन्त्य हुन्छ ।’
उपाध्याय १४ औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित हुनभएको थियो । यसअघि सहमहामन्त्री भएर काम गरिसकेकोले अहिले महामन्त्री पदमा आफ्नो दाबी स्वभाविक रहेको उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल