बुधबार, १७ भदौ २०८३
बिहिबार, २६ चैत २०८२ · राजनीति
काठमाडौं, चैत २६ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली १३ दिनको हिरासतपछि बिहीबार रिहा भएका छन्। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा चैत १४ गते पक्राउ परेका ओलीलाई सर्वोच्च अदालतको परमादेशपछि हाजिर जमानीमा छाडिएको हो।
जटिल स्वास्थ्य अवस्थाका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका ओलीलाई प्रहरीले अस्पतालबाटै उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाएको छ। काठमाडौँ जिल्ला प्रहरी परिसरका सूचना अधिकारी एसपी पवनकुमार भट्टराईका अनुसार, अनुसन्धानका क्रममा आवश्यक परेका बेला उपस्थित हुने गरी उनलाई रिहा गरिएको हो।
ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि उनीहरूका पत्नी क्रमशः राधिका शाक्य र यशोदा लेखकले 'गैरकानूनी हिरासत' दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए। उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले चैत २३ गते '२६ चैतभित्र अनुसन्धान टुंग्याउन' र 'सो अवधिमा पनि अनुसन्धान नसकिए सर्तसहित छाड्न' परमादेश जारी गरेको थियो। सोही आदेशको पालना गर्दै बिहीबार प्रहरीले यो कदम चालेको हो।
प्रहरीका अनुसार ओलीको बाँकी अनुसन्धान प्रक्रिया जारी रहनेछ। यद्यपि, उनको थप उपचार र स्वास्थ्य स्थिति हेरेर चिकित्सकहरूले नै बाँकी निर्णय लिने बताइएको छ। सरकारी वकिलको सहमतिमा 'खोजी भएको बेला उपस्थित हुने गरी' उनलाई रिहा गरिएकाे हाे।
प्रधानमन्त्रीले सदनमा केही कुरा गलत बोल्नुभयोः दाहाल
३ घण्टा अगाडि
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
६ घण्टा अगाडि