शुक्रबार, ०४ वैशाख २०८३
शुक्रबार, ०४ वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख ४ । काठमाडौं महानगरपालिकाले आफ्नो भौगोलिक तथा प्रशासनिक क्षेत्रभित्रका मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि वैशाख ५ गतेदेखि असन क्षेत्रमा ‘जीवन्त र समृद्ध असन’ कार्यक्रम शुरु गर्ने भएको छ ।
‘जीवन्त र समृद्ध असन’ नाम दिइएको यो कार्यक्रमले स्थानीय सांस्कृतिक पहिचान र परम्परागत जीवनशैलीलाई जीवन्त राख्ने लक्ष्य लिएको हो । मानवीय तथा सवारी आवागमन चापका कारण भित्री शहरी क्षेत्रमा बढेको चुनौतीलाई सम्बोधन गर्न महानगरले यो कदम चालेको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताए ।
यस कार्यक्रम अन्तर्गत असन क्षेत्रमा परम्परागत ज्ञान, सीपको प्रदर्शनी, गायन, वादन र नृत्य जस्ता क्रियाकलापहरू सञ्चालन गरिनेछन् । वैशाख ५ गते शनिवारदेखि शुरु हुने यस कार्यक्रम अवधिमा असन क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइनेछ ।
महानरकाअनुसार शनिवारको निश्चित समयमा कमलक्षी, भोटाहिटी र महाबौद्धबाट असनतर्फ आउने सवारी साधनहरू निषेध गरिनेछ । सवारी धनीहरूले वैकल्पिक मार्गको प्रयोग गर्नुपर्नेछ भने पर्यटक तथा आगन्तुकहरूले धरहरा भूमिगत पार्किङ वा जमल बोहरा भवनमा पार्किङ गर्न सक्ने प्रवक्ता मानन्धरले बताए ।
यस पहलले असन बजारको मौलिकता बढाउन, वायु प्रदुषण नियन्त्रण गर्न र स्थानीयवासीको उद्यमशीलता विकासमा टेवा पुग्ने महानगरको विश्वास छ । वडा नं २७ बाट शुरु गरिएको यो कार्यक्रम वडा नं २५ (केलटोल) क्षेत्रमा पनि विस्तार गर्ने तयारी भइरहेको पनि उनले बताए ।
त्यस्तै वैशाख ५ गतेबाटै निःशुल्क वाटर एटिएम मेसिन शुभारम्भ गरिने पनि उनले जानकारी दिए । कामनपाभित्र करिव २ करोड ६० लाख रुपैयाँको लागतमा ८ वटा वाटर एटिएम बुथ निर्माण भएका छन् । यि बुथहरु निःशुल्क गुणस्तरीय पिउने पानी उपलब्ध हुने महानगरले जनाएको छ ।
मौलिक शैलीमा निर्माण गरिएका बुथहरुमा ३ हजार लिटर पानी भण्डारण क्षमता रहेको उनले बताए । बुथहरु खुला मञ्च, राष्ट्रिय सभा गृह, दरबार हाइ स्कुल बाहिर, वडा नम्बर १७ को लिङ्क रोड ढल्को चोक, वडा नम्बर ५ नरःदे (हाँडीगाउँ), वडा नम्बर २६ परिसर र वडा नम्बर ३१ को परिसरमा जडान गरिएको बताए ।
मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना
८ घण्टा अगाडि