logo-image

मङ्गलबार, १५ वैशाख २०८३

क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल

मङ्गलबार, १५ वैशाख २०८३ · समसामयिक

क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्या समाधान हुँदैनः झलनाथ खनाल

काठमाडौं, वैशाख १५ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा क्रान्तिकारी भूमिसुधार बिना सुकुम्बासी समस्याको दीर्घकालीन समाधान असम्भव रहेको बताएका छन् ।

सुकुम्बासीको परिभाषा दिँदै आफ्नो स्वामित्वमा एक चपरी जमिन पनि नभएको र बस्ने ठाउँ कतै नभएका व्यक्ति नै वास्तविक सुकुम्बासी भएको बताएका हुन् । नेता खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्री बालेन्द्र साहको कार्यशैलीप्रति आलोचना गरे ।

उनले अहिले भइरहेको कार्यलाई ‘दमन चक्र’ को संज्ञा दिँदै बन्दुक र डोजरका भरमा समस्या समाधान नहुने दाबी गरे । उनले सुकुम्बासी समस्या तराईका झापादेखि कञ्चनपुरसम्मका १५ जिल्ला र भित्री मधेसका सुर्खेत, दाङ, नवलपरासी, चितवन, मकवानपुर र उदयपुरमा सबैभन्दा भयावह रहेको उल्लेख गरे ।

विशेषगरी दलित समुदायमा ६० प्रतिशत जनता अझै पनि पूर्ण रूपमा भूमिहीन रहेको तथ्य उनले बताए । काठमाडौं उपत्यकाभित्र सुकुम्बासीसँगै ‘हुकुम्बासी’ (शक्ति र पहुँचका भरमा जमिन ओगट्नेहरू) पनि रहेको स्वीकार्दै उनले हुकुम्बासीका नाममा वास्तविक सुकुम्बासीलाई आतंकित पार्न नहुने बताए । नेपाल कृषिप्रधान देश भएपनि ग्रामीण क्षेत्रमा भूमिहीन र गरिब किसानको संख्या ठूलो रहेको उनको टिप्पणी छ ।

पार्टीले यस विषयमा ठोस प्रश्ताव पारित गरेको र अब संसदीय दलमार्फत सरकारसँग छलफल गरिने पनि उनले जानकारी दिए । सडकबाट मात्रै सबै कुरा नहुने भन्दै संसदबाट हुने केही कुराहरु रहेको उनको भनाइ छ ।