logo-image

बुधबार, २० जेठ २०८३

इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, इरानसँगको वार्ता जारी रहेको ट्रम्पको दाबी

बुधबार, २० जेठ २०८३ · अन्तर्राष्ट्रिय

इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, इरानसँगको वार्ता जारी रहेको ट्रम्पको दाबी

काठमाडौं, जेठ २० ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हिजबुल्लाहबीच युद्धविरामका लागि सहमति भएको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै ट्रम्पले इरानसँगको वार्ता पनि तिब्र गतिमा अगाडि बढिरहेको बताउनुभएको हो ।

लेबनानमा इजरायली सैन्य कारबाहीको विरोध गर्दै तेहरानले मध्यस्थकर्ताहरूमार्फत वासिङ्टनसँग भइरहेको सन्देश आदानप्रदान प्रक्रिया स्थगित गरेको बताएको केही घण्टापछि ट्रम्पको यो टिप्पणी सार्वजनिक भएको हो । आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले लेख्नुभएको छ,‘इरानसँगको वार्ता तीव्र गतिमा जारी छ।’ उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोन वार्ता भएको र हिजबुल्लाहका प्रतिनिधिहरूले पनि सन्देश पठाएको उल्लेख गर्दै दुवै पक्ष शत्रुतापूर्ण सैन्य गतिविधि रोक्न सहमत भएको दाबी गर्नुभयो । 

इजरायली प्रधानमन्त्री नेतान्याहुसँगको संवाद अत्यन्तै फलदायी रहेको उल्लेख गर्दै ट्रम्पले इजरायलले लेबनानको राजधानी बेरुतमा सेना नपठाउने समेत स्पष्ट पार्नुभयो । यसअघि आईतवार इजरायलले दक्षिण लेबनानको रणनीतिक महत्त्वको ब्युफोर्ट रिज र त्यसको टाकुरामा रहेको ऐतिहासिक किल्ला कब्जा गरेको दाबी गरेको थियो । यो क्षेत्र युद्धविराम सम्झौतापछि इजरायलले कायम राखेको सुरक्षा क्षेत्र भन्दा बाहिर पर्दछ । 

सञ्चारमाध्यमहरूका अनुसार २० वर्षभन्दा बढीको अवधिमा लेबनानमा इजरायलको यो सबैभन्दा गहिरो सैन्य प्रवेश हो । इजरायलको यस कदमको अरब राष्ट्रहरूका साथै फ्रान्स, जर्मनी र संयुक्त अधिराज्य (यूके) ले निन्दा गरेका छन् । 

ताजा समाचार