logo-image

मङ्गलबार, १५ वैशाख २०८३

होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई मानवोचित व्यवहार गर्न इन्सेकको आग्रह

मङ्गलबार, १५ वैशाख २०८३ · समसामयिक

होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई मानवोचित व्यवहार गर्न इन्सेकको आग्रह


काठमाडौं, बैशाख १५ । काठमाडौँका विभिन्न सुकुम्बासी बस्तीबाट हटाइ  होल्डिङ सेन्टरमा राखिएका नागरिकलाई मानवोचित व्यवहार गर्न इन्सेकले सरकारसँग आग्रह गरेको छ ।

इन्सेकका अध्यक्ष विजयराज गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा होल्डिङ सेन्टरमा इन्सेकले गरेको अनुगमनका क्रममा नागरिकहरूको बसोबास, सरसफाइ, स्वास्थ्य सेवा, सफा खानेपानी तथा पर्याप्त खानाको अभाव भएको तथ्य पाइएको उल्लेख छ । बलपूर्वक विस्थापनबाट प्रभावित समुदायको आवासको अधिकार, रोजगारी तथा जीविकोपार्जनको स्रोत, बालबालिकाको शिक्षा तथा स्वास्थ्य सेवामा पहुँचमा प्रत्यक्ष असर पु¥याएको तथा घर तथा आश्रय गुमाउनु केवल भौतिक क्षति मात्र नभई, यसले व्यक्तिको सामाजिक सञ्जाल, सुरक्षा भावना र मानवीय गरिमामा समेत गहिरो चोट पुगेको विज्ञप्तिमा उल्लेख छ ।

सुकुम्बासी समस्याको न्यायोचित समाधानका लागि स्पष्ट नीति, कानुनी आधार र संस्थागत संयन्त्र विकास गर्न साथै ज्येष्ठ नागरिक, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायलाई विशेष प्राथमिकता दिँदै उनीहरूको अधिकार, सुरक्षा र विशेष अवस्था तथा आवश्यकताको सम्बोधन सुनिश्चित गर्न विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराइएको छ ।