logo-image

बिहिबार, ०८ असोज २०८३

इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने

बिहिबार, ०१ असोज २०८३ · समसामयिक

इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने

काठमाडौं, असोज ८ ।  काठमाडौंमा मनाईने प्रमुख पर्व ईन्द्रजात्राको सम्पूर्ण गतिविधि मोबाईल एपमाफर्त लिन सकिने भएको छ । 
काठमाडौं महानगरपालिका र गल्ली म्यापको सहकार्यमा मोवाईलबाट नै इन्द्रजात्राका गतिविधि, रथयात्राको रुट तथा ट्राफिक अवस्थाबारे जानकारी लिन सकिने व्यवस्था गरिएको हो । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले ‘गल्ली म्याप’मार्फत ईन्द्रजात्राको सम्पर्ण जानकारी सहजै लिन सकिने बताउनु भयो । उहाँकाअनुसार इन्द्रजात्रामा ३१ वटा परम्परागत गुठीसहित विभिन्न क्लब, संघ–संस्था तथा सांस्कृतिक समूहको सहभागिता रहने भएकाले जात्राका गतिविधि विभिन्न स्थानमा सञ्चालन हुने गरेका छन् । इन्द्रजात्रामा श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रासँगै लाखे, पुलुकिसी, श्वेतभैरव, दश अवतारलगायत विभिन्न सांस्कृतिक गतिविधि तथा नाच प्रदर्शन हुने गरेका छन् । ती गतिविधि कुन स्थानमा र कुन समयमा भइरहेका छन् भन्ने जानकारी गल्ली म्यापमार्फत सहजै जानकारी लिने सकिने उहाँले बताउनु भयो । गल्ली म्यापको नयाँ सुविधामार्फत प्रयोगकर्ताले आफू नजिक भइरहेका जात्राका गतिविधि, आफूले हेर्न चाहेको कार्यक्रम तथा विभिन्न सांस्कृतिक गतिविधिको स्थानबारे जानकारी लिन सक्ने उहाँको भनाई छ । साथै जात्राका कारण प्रभावित हुने ट्राफिकको जानकारीसमेत म्यापमा समावेश गरिएको छ । कुन रुटमा रथयात्रा भइरहेको छ, कुन सडक प्रभावित छ, कहाँ ट्राफिक जाम हुन सक्छ र वैकल्पिक रुट कुन–कुन हुन् भन्ने जानकारी म्यापबाट प्राप्त गर्न सकिने उहाँले जानकारी दिनुभयो । जात्रामा सहभागी हुनेहरूका लागि निःशुल्क वा उपलब्ध पानीका स्थान तथा शौचालय कहाँ छन् भन्ने जानकारीसमेत म्यापमा समावेश गरिएको छ ।
उहाँले भन्नुभयो, ‘हामीले गल्ली म्यापसँग सहकार्य गरेको चौथो पटक हो । विगत तीन वर्षदेखि हामीले इन्द्रजात्राका लागि गल्ली म्यापसँग सहकार्य गर्दै आएका छौँ । काठमाडौंका विभिन्न जात्रामध्ये धेरै पक्ष र गतिविधि समेटिएको जात्रा इन्द्रजात्रा पनि हो । यसमा ३१ वटा परम्परागत गुठी सहभागी हुन्छन्, त्यसबाहेक विभिन्न क्लब, संघ–संस्था र अन्य समूहको पनि ठूलो सहभागिता हुन्छ । इन्द्रजात्रा भन्नेबित्तिकै धेरैले श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रालाई बुझ्छौँ। तर त्यसबाहेक पनि इन्द्रजात्रामा धेरै गतिविधि हुन्छन् । यो वास्तवमै ठूलो स्ट्रिट फेस्टिभलजस्तै हुन्छ । लाखे, पुलुकिसी, श्वेतभैरव, दश अवतारलगायत विभिन्न नाच तथा गतिविधि विभिन्न ठाउँमा भइरहेका हुन्छन् । तर ती गतिविधि कहाँ र कहिले भइरहेका छन् भन्ने कुरा इन्द्रजात्रा हेर्न आउने धेरैलाई थाहा हुँदैन । हामी पनि सानैदेखि कुनै चोकमा बसेर भगवानको रथ आउने, लाखे आउने वा पुलुकिसी आउने समय कुरेर बस्ने गथ्र्यौँ । कुन रुटमा छ, कहाँ पुग्यो भन्ने जानकारी हुँदैनथ्यो । कतिपय अवस्थामा लाखे वा पुलुकिसीसँग हिँडिरहेको व्यक्तिलाई फोन गरेर ‘कहाँ पुग्यो, कतिबेला आइपुग्छ ?’ भनेर सोध्नुपर्ने अवस्था हुन्थ्यो । तर अब कसैलाई फोन गरिरहनुपर्दैन । गल्ली म्यापबाटै सजिलै कुन गतिविधि कहाँ भइरहेको छ, आफू नजिक कुन गतिविधि भइरहेको छ र आफूलाई कुन गतिविधि हेर्न मन छ भन्ने आधारमा जानकारी लिन सकिन्छ । यसपटक अझ महत्वपूर्ण कुरा ट्राफिक व्यवस्थापनसँग सम्बन्धित सुविधा थपिएको छ । जात्राका कारण नियमित ट्राफिकमा असर पर्छ र विभिन्न ठाउँमा ट्राफिक जाम हुने गर्छ । तर कुन ठाउँमा कुन समयमा ट्राफिक प्रभावित हुन्छ भन्ने जानकारी सबैलाई हुँदैन । अब गल्ली म्यापबाट कुन रुटमा रथ आइरहेको छ, कुन रुट प्रभावित छ, कहाँ ट्राफिक जाम हुन सक्छ र त्यसको विकल्पमा कुन रुट प्रयोग गर्न सकिन्छ भन्ने जानकारी पनि लिन सकिनेछ । त्यसैगरी जात्रामा जाँदा शौचालय कहाँ छ, पानी कहाँ पाइन्छ भन्ने जानकारी पनि म्यापमा थपिएको छ । जति धेरै सूचना उपलब्ध हुन्छ, त्यति नै आम नागरिकलाई जात्रा अवलोकन गर्न सहज हुन्छ । थोरै समय भएका व्यक्तिले पनि आफ्नो समयअनुसार विभिन्न गतिविधि हेर्न र जात्राको अवलोकन गर्न सक्नेछन् । यस वर्ष थप गरिएका सुविधाका कारण धेरै नागरिकले गल्ली म्याप प्रयोग गर्नुहुनेछ र इन्द्रजात्रा अवलोकन अझ सहज हुनेछ भन्ने हाम्रो अपेक्षा छ । अब कसैको सम्पर्क नम्बर नभएर लाखे कहाँ पुग्यो ? वा पुलुकिसी कहाँ पुग्यो ? भनेर थाहा नपाउने अवस्था हुँदैन ।’
प्रविधिको प्रयोगबाट इन्द्रजात्राका गतिविधिबारे सहज जानकारी प्राप्त हुने भएकाले सीमित समय भएका दर्शकले पनि आफ्नो रुचिअनुसार विभिन्न गतिविधिमा सहभागी हुन तथा अवलोकन गर्न सक्ने उहाँले बताउनु भयो । उहाँकाअनुसार अब लाखे, पुलुकिसी वा अन्य जात्राका गतिविधि कहाँ पुगे भन्ने जानकारी लिन सम्बन्धित व्यक्तिलाई फोन गरिरहनुपर्ने अवस्था हट्नेछ । गल्ली म्यापका को–फाउण्डर रामविक्रम महर्जनले गल्ली म्यापले तयार पारेको नयाँ मोवाईल एप कार्यवाहक प्रमुख डंगोललाई हस्तान्तरण गर्नुभएको थियो । साथै उहाँले मोवाईल एपका बारेमा जानकारी पनि गराउनुभएको थियो । –न्युज एजेन्सी नेपाल

 

ताजा समाचार