बिहिबार, ०८ असोज २०८३
बिहिबार, ०८ असोज २०८३ · समसामयिक
काठमाडौं, असोज ८ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ। लगातारको वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्नुका साथै पहाडी तथा हिमाली क्षेत्रमा पहिरो र सडक अवरुद्ध हुने जोखिम रहेको विभागले जनाएको छ।
आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रौतहट, बारा, पर्सा, रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, तनहुँ, कास्की, लमजुङ, स्याङ्जा, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा, सल्यान, बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला र कालिकोट तथा आसपासका जिल्लाबाट बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ।
ती क्षेत्रमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहेको विभागले जनाएको छ। विशेषगरी नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र कमजोर भौगोलिक अवस्था भएका स्थानमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।
त्यसैगरी पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ तथा आसपासका जिल्लाबाट बहने साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको विभागले जनाएको छ।
विभागले भारी वर्षाको समयमा अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र बाढी तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सम्भावित बाढी, डुबान र पहिरोप्रति सचेत रहन आग्रह गरेको छ। आकस्मिक बाढीको अवस्था आएमा सुरक्षित स्थानतर्फ जान तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।
वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५ तथा विपद्मा सहायता आवश्यक परे १२३४, १०० वा ११११ मा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।
इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने
एक घण्टा अगाडि
रास्वपा सांसदको प्रश्नः ‘कानून ठूलो कि नागरिकको ज्यान ?’
३ घण्टा अगाडि