logo-image

बिहिबार, ०८ असोज २०८३

रास्वपा सांसदको प्रश्नः ‘कानून ठूलो कि नागरिकको ज्यान ?’

बिहिबार, ०८ असोज २०८३ · राजनीति

रास्वपा सांसदको प्रश्नः ‘कानून ठूलो कि नागरिकको ज्यान ?’

काठमाडौं, असोज ८ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ज्ञानेन्द्र सिंह महताले बिरामीको ज्यान बचाउने आपत्कालीन हवाई उद्धारमा देखिएको प्रक्रियागत र कानूनी जटिलताप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । 
आफ्नो परिवारको सदस्यको जीवन रक्षाका लागि सरकारी निकाय धाउँदा पनि सहयोग नपाएपछि उहाँले बिहीवारको संसद बैठकमा ‘मानव जीवन भन्दा ठूलो कानून हुन नसक्ने’ भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । कञ्चनपुरको महाकाली अस्पतालमा भदौ ६ गते भर्ना भएकी भाइबुहारीको शल्यक्रियापछि स्वास्थ्य अवस्था एक्कासी जटिल बनेपछि सांसद महताले आपत्कालीन हवाई उद्धारको प्रयास गर्नुभएको थियो । चिकित्सकले बिरामीलाई सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएपछि उहाँले स्वास्थ्य, गृह र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सम्पर्क गर्नुभएको थियो । तर मन्त्रालयका जिम्मेवार पदाधिकारीबाट फोन नउठ्ने र फोन उठेको अवस्थामा पनि ‘कानूनी जटिलता’ भन्दै पन्छिने काम भएको उहाँले बताउनु भयो । 
सभामुखको सहयोगमा केही प्रयास भएपनि अन्त्यमा निजी क्षेत्रको हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था आयो । 
सांसद महताले प्रश्न गर्नुभयो, ‘म एक सांसद भएर राज्यको संयन्त्रसम्म पहुँच हुँदा त यति धेरै सास्ती छ भने दूरदराजका सर्वसाधारण नागरिकले कसरी आपत्कालीन उपचार पाउँछन् ?’
उहाँले हालको उद्धार प्रणालीमा रहेका प्रशासनिक झमेलाहरू तत्काल अन्त्य गर्न माग गर्नुभयो । सांसद महताले चिकित्सकको सिफारिसका आधारमा तत्काल हवाई उद्धार गर्ने व्यवस्था लागू गर्न, स्वास्थ्य र गृह मन्त्रालय, सेना तथा नागरिक उड्डयन प्राधिकरणबीच २४ सै घण्टा समन्वय हुने संयन्त्र निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो । कानून नागरिकको जीवन बचाउन हुनुपर्नेमा अवरोधक बन्न नहुने उहाँको तर्क छ । –न्युज एजेन्सी नेपाल