शुक्रबार, ०९ असोज २०८३
शुक्रबार, ०९ असोज २०८३ · समसामयिक
ललितपुर, असोज ९ । लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित खोलामा जलसतह बढेपछि गृहमन्त्री सुधन गुरुङले नेकपा एमालेको केन्द्रीय कार्यालय आसपासको क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
खोलाको बहाव बढेसँगै आसपासका बस्ती तथा एमाले केन्द्रीय कार्यालय क्षेत्र डुबानमा पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङले शनिबार उक्त क्षेत्रको अवस्थाबारे जानकारी लिएका हुन्।
निरीक्षणका क्रममा उनले खोलाको जलसतह, बहावको अवस्था, सम्भावित कटान तथा डुबानबाट हुन सक्ने क्षतिको जोखिमबारे सुरक्षा निकाय तथा स्थानीय प्रतिनिधिसँग जानकारी लिएका थिए।
गृहमन्त्री गुरुङले सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक पूर्वतयारी तथा उद्धार व्यवस्थालाई चुस्त राख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। साथै, विपद् व्यवस्थापन तथा उद्धारमा खटिने टोलीलाई तयारी अवस्थामा राख्न र जोखिमयुक्त क्षेत्रमा आवश्यक निगरानी बढाउनसमेत आग्रह गरेका छन्।
लगातारको वर्षाका कारण जलसतह थप बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सतर्क रहन तथा जोखिमयुक्त क्षेत्रमा आवतजावत गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ।