बिहिबार, १० वैशाख २०८३
बिहिबार, १० वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख १० । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन मिडिया र सामाजिक सञ्जालमा फैलिरहेका अपुष्ट, भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता गतिविधि नगर्न कडा चेतावनी दिएको छ।
मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा विभिन्न अनलाइन प्लेटफर्महरूमा आधारहीन सूचना सम्प्रेषण हुनाले नागरिकमा भ्रम सिर्जना हुने, राज्यप्रतिको विश्वास कमजोर बन्ने र सार्वजनिक शान्ति सुरक्षामा समेत असर पर्ने उल्लेख गरिएको छ। सरकारले सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आधिकारिक स्रोतबाट पुष्टि नभएका सामग्री सेयर नगर्न र सूचनाको सत्यता जाँच गर्न अपिल गरेको छ।
यदि कसैले नियतवश झुटा र भ्रामक समाचार प्रकाशन वा प्रसारण गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कानुनी कारबाही गरिने चेतावनी दिँदै मन्त्रालयले यस्ता गलत सूचनाबारे जानकारी भएमा सम्बन्धित निकायमा उजुरी गर्न समेत नागरिकहरूलाई अनुरोध गरेको छ।
