logo-image

सोमबार, ११ जेठ २०८३

भारतमा ११ दिनमै चौथो पटक बढ्यो इन्धनको मूल्य, महँगी झन् बढ्ने

सोमबार, ११ जेठ २०८३ · अन्तर्राष्ट्रिय

भारतमा ११ दिनमै चौथो पटक बढ्यो इन्धनको मूल्य, महँगी झन् बढ्ने

नयाँ दिल्ली, जेठ ११ । मध्यपूर्वमा चर्किएको युद्ध र तनावका कारण भारतमा पेट्रोल र डिजेलको मूल्यमा फेरि ठूलो वृद्धि भएको छ। सोमबार बिहानदेखि लागू हुने गरी इन्धन कम्पनीहरूले प्रतिलिटर करिब ३ रुपैयाँ मूल्य बढाएका छन्। योसँगै पछिल्लो ११ दिनभित्र मात्रै चौथो पटक मूल्यवृद्धि भएको छ, जसका कारण इन्धन प्रतिलिटर ७ रुपैयाँभन्दा बढीले महँगिएको छ।

गत फेब्रुअरीमा युद्ध सुरु भएयता भारतमा तेलको भाउ करिब ५ प्रतिशतले बढिसकेको छ। इरान र हर्मुज जलघाँटी क्षेत्रमा देखिएको सैन्य तनावले विश्वकै प्रमुख तेल आपूर्ति मार्गमा अवरोध पुर्‍याएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिएको हो। भारतले आफ्नो आवश्यकताको ८५ प्रतिशत कच्चा तेल विदेशबाट आयात गर्ने भएकाले विश्व बजारको यो हलचलले सिधै भारतीय उपभोक्ताको खल्तीमा असर पारेको छ।

यो मूल्यवृद्धिले आम नागरिक र विशेष गरी मध्यम वर्गको मासिक बजेट बिग्रिएको छ। दुई हप्तामै सवारी साधनको तेल खर्च १० प्रतिशतसम्म बढेको छ। इन्धन महँगिएपछि सामान ओसारपसार गर्ने ढुवानी भाडा बढ्ने र त्यसले बजारमा फलफूल, तरकारी तथा खाद्यान्नको मूल्य बढाउने जोखिम निम्त्याएको छ।

भारत पेट्रोलियम कर्पोरेसनका निर्देशक राज कुमार दुबेका अनुसार पश्चिम एसियाको तनाव अझै लम्बिएमा इन्धनको भाउ अझै बढ्न सक्छ। आपूर्ति शृङ्खला खलबलिएकाले तेल कम्पनीहरू ठूलो घाटा र दबाबमा छन्। उहाँका अनुसार अब सरकार र कम्पनीहरूसँग केवल तीनवटा विकल्प छन्– कि त इन्धनको मूल्य लगातार बढाउँदै लैजाने, कि तेल कम्पनीहरूले घाटा सहने, अथवा सरकारले सो घाटाको भरपाइ गरिदिने।