logo-image

शुक्रबार, ११ वैशाख २०८३

लागूऔषधको जालो तोड्दै प्रहरी: विभिन्न स्थानबाट ब्राउनसुगरदेखि चरेससम्म बरामद

शुक्रबार, ११ वैशाख २०८३ · समसामयिक

लागूऔषधको जालो तोड्दै प्रहरी:  विभिन्न स्थानबाट ब्राउनसुगरदेखि चरेससम्म बरामद


काठमाडौं, वैशाख ११ । काठमाडौं महानगरपालिका–८ तिलगंगास्थित आँखा अस्पताल नजिकबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम र नगद २० हजार रूपैयाँ सहित सोही महानगरपालिका–८ तिलगंगा बस्ने महोत्तरी पिपरा गाउँपालिका–२ घर भएका ३८ वर्षीय सरोज यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यसैगरी काठमाडौंको टोखा नगरपालिका–९ मनमैजुबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ७ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका–५ घर भएका ३६ वर्षीय सबिन राज गुणी समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।     

दाङको घोराही उपमहानगरपालिका–१५ जनजाती टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ८० मिलिग्राम र नगद ९ हजार १ सय ४० रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सुन्दर बुढा र सोही उपमहानगरपालिका–१५ मनकामना टोल बस्ने २८ वर्षीय संजय खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले सुन्दरको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी दाङको गढवा गाउँपालिका–१ धानखोलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय गोविन्द घर्ति मगरलाई बिहीबार बेलुकी प्रहरी पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङ समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम फेला पारी बरामद गरेको छ । साथै प्रहरीले उनले प्रयोग गरेको बा.८५ प १९५१ नम्बरको मोटरसाइकल बरामद गरेको छ । 

ललितपुरको ललितपुर महानगरपालिका–१५ बोधीग्रामबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट सहित सोही महानगरपालिका–२६ ढोलाहिटी बस्ने २० वर्षीय प्रशान्त मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी ललितपुरको ललितपुर महानगरपालिका–१४ नखिपोटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २० ट्याब्लेट सहित सोही महानगरपालिका–१४ नखिपोट बस्ने बारा घर भएका ३० वर्षीय सरण आले मगरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु बसपार्कबाट नियन्त्रित लागूऔषध नोर्फिन ४१ एम्पुल, डाईजेपाम ३९ एम्पुल र फेनारगन ३९ एम्पुल सहित सोही नगरपालिका–७ चागाथली बस्ने ३० वर्षीय विजय खड्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले बा.६७ प १५४५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

डडेलधुराको अमरगढी नगरपालिका–५ तुफानडाँडास्थित पुल हाउसबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६६ ग्राम ६ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय रोशन गैरे र सोही नगरपालिका–४ बस्ने ४२ वर्षीय राम बहादुर पुन रहेका छन् । जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले रोशनले संचालन गरेको उक्त पुल हाउसमा तलासी गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । 

बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बस्ने ३३ वर्षीय नविन सुवेदी र ३० वर्षीय सुवास थापा मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बर्दियाको बढैयाताल गाउँपालिका–६ रानीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका–४ बस्ने ४७ वर्षीय जान अलि बेडुवालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापाको भद्रपुर नगरपालिका–५ मेचीबिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ७ सय ६० मिलिग्राम र नगद ९ हजार रूपैयाँ सहित सोही नगरपालिका–७ मेघा टोल बस्ने २४ वर्षीय सुमन मुखियालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।