सोमबार, १८ जेठ २०८३
बुधबार, २५ चैत २०८२ · समसामयिक
काठमाडौं, चैत्र २५ । काठमाडौंको पवित्र पशुपतिनाथ क्षेत्रमा विगत केही दिनदेखि बेवारिसे अवस्थामा देखिएका एक फ्रान्सेली नागरिकको हाल उद्धार गरिएको छ।
अनुसन्धानका क्रममा ती नागरिक विगत ६ वर्षदेखि आफ्नी नेपाली श्रीमतीसँग नेपालमा बस्दै आएको र पछिल्लो समय चरम आर्थिक संकटमा परेको खुलेको छ। सोही आर्थिक अभावका कारण उनीहरूले आफ्नो राहदानी, मोबाइल र ल्यापटप लगायतका सामग्रीहरू आफू बसेको होटलमै छोडेर हिँडेको पाइएको छ।
सामाजिक सञ्जालमा फैलिएको हल्ला जस्तो निजको सामान चोरी वा लुटपाट भएको नभई परिस्थितिवश सामग्रीहरू होटलमै रहन गएको सोधपुछबाट स्पष्ट भएको छ। हाल उनलाई आवश्यक कानुनी प्रक्रिया र व्यवस्थापनका लागि सुरक्षित साथ अध्यागमन विभागमा बुझाइएको छ।
प्रशासनले कुनै पनि विषयको सत्यतथ्य नबुझी केवल भ्युज र लाइक्सका लागि सामाजिक सञ्जालमा भ्रमपूर्ण प्रचार नगर्न र अफवाह फैलाउने कार्यलाई निरुत्साहित गर्न सर्वसाधारणमा विशेष अनुरोध समेत गरेको छ।