logo-image

बुधबार, ०३ भदौ २०८३

अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण

बुधबार, ०३ भदौ २०८३ · अन्तर्राष्ट्रिय

अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण

काठमाडौं, भदौ ३ । चीनले बुधवार बिहान पुनः प्रयोग गर्न मिल्ने रकेट ‘जुके–३’ को सफल प्रक्षेपण गरेको छ । यस अभियानका क्रममा चीनले पहिलो पटक रकेटको पहिलो खण्डलाई जमिनमा सफलतापूर्वक अवतरण गराउन सफलता प्राप्त गरेको हो । उत्तर–पश्चिमी चीनस्थित दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन पाइलट जोनबाट बेइजिङ समयअनुसार बुधवार बिहान ७ः३५ बजे ‘जुके–३ वाई–२’ रकेट प्रक्षेपण गरिएको थियो । निर्धारित योजनाअनुसार नै रकेटको पहिलो खण्ड जमिनमा अवतरण भएको र उक्त उडान अभियान पूर्णरूपमा सफल भएको अधिकारीहरूले जनाएका छन् ।
यसअघि गत जुलाई १० मा चीनले ‘लङ मार्च–१० बी’ रकेटको पहिलो खण्डलाई समुन्द्रमा सफलतापूर्वक अवतरण गराएको थियो । तर अवतरणका लागि खुट्टाहरूको प्रयोग गरी जमिनमा नियन्त्रित रूपमा रकेट फिर्ता ल्याइएको यो चीनको पहिलो सफल परीक्षण हो ।
यस उपलब्धिलाई चीनको पुनः प्रयोग गर्न मिल्ने रकेट प्रविधिको क्षेत्रमा एक ठूलो फड्को मानिएको छ । यो सफलतासँगै चीनले अन्तरिक्ष अभियानको लागत घटाउने र रकेट प्रविधिलाई थप दिगो बनाउने दिशामा महत्वपूर्ण माइलढुङ्गा पार गरेको छ ।