logo-image

बुधबार, १६ वैशाख २०८३

काठमाडौं महानगरका विद्यार्थीले तयार पारेको स्केच र मूर्तिकलाको प्रदर्शनी शुरु

बुधबार, १६ वैशाख २०८३ · समसामयिक

काठमाडौं महानगरका विद्यार्थीले तयार पारेको स्केच र मूर्तिकलाको प्रदर्शनी शुरु

काठमाडौं, वैशाख १६ । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत विद्यार्थीले तयार पारेको स्केच र मूर्तिकलाको प्रदर्शनी शुरु भएको छ । प्रदर्शनीको बुधवार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

शुक्रवारसम्म सञ्चालन हुने प्रदर्शनीमा काठमाडौं महानगरले सञ्चालन गरेको १५ हप्ते स्केच तथा मूर्तिकला तालिम पूरा गरेका विद्यार्थीद्वारा सिर्जित कलाकृति राखिएको छ । प्रदर्शनीको उद्घाटन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला क्षेत्रमा पुस्तान्तरणको आवश्यक रहेको बताउनु भयो । उहाँले कला क्षेत्रमा ‘अघिको, अहिलेको र अबको’ पुस्ताबीच सीप हस्तान्तरणको अवधारणामा काम गर्नुपर्ने उल्लेख गर्नुभयो । अघिल्लो पुस्ताले सिकाएको सीप अहिलेको पुस्ताले ग्रहण गरेको र अहिलेको पुस्ताले अबको पुस्तालाई हस्तान्तरण गर्न आवश्यक रहेको उहाँको भनाई छ । यसको लागी प्रतिष्ठान र काठमाडौं महानगरपालिकाबीच सहकार्य भएको उहाँले जानकारी दिनुभयो । यो सहकार्यले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कला क्षेत्रमा सीप सिकाउन महत्वपूर्ण भुमिका खेलेको उहाँको भनाई छ । 
उहाँले भन्नुभयो, ‘ललितकलामा हामी तीन वटा ‘अ’ को प्रयोग गर्छौं, अघिको, अहिलेको र अबको । अघिको पुस्ताले अहिलेको पुस्तालाई हस्तान्तरण गरेको सीप अबको पुस्तालाई हस्तान्तरण गर्नुपर्ने हुन्छ ।’ 
काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख नवराज ढकालले महानगरले ‘गरिखाने शिक्षा र महानगरको इच्छा’ कार्यक्रमअन्तर्गत १५ हप्ते स्केच र मूर्तिकलाको तालिम सञ्चालन गरेको बताउनु भयो । तालिममा सहभागी विद्यार्थीको सीप र कलालाई उजागर गर्न प्रदर्शनीको आयोजना गरिएको उहाँको भनाई छ । महानगरले विद्यालय तहदेखि नै कला शिक्षालाई व्यावहारिक बनाउने उद्देश्यले स्केच र मूर्तिकलाको तालिम सञ्चालन गरेको हो । तालिममा विद्यार्थीले सिकेको सीपलाई भविष्यमा पेशा वा व्यवसायका रूपमा अघि बढाउने उहाँको विश्वास छ । आगामी वर्ष प्रदर्शनीसँगै प्रतिष्पर्धात्मक प्रतियोगिता पनि सञ्चालन गर्ने उहाँले बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘महानगरको गरिखाने शिक्षा र महानगरको ईच्छा कार्यक्रम अन्तर्गत विविध कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ । सोहीअनुसार यो सीप सिकाउनको लागि महानगरले स्केचको कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौं महानगरमा भएका ८३ वटा विधालयहरु छन् । तीमध्ये ५९ वटा माध्यामिक विद्यालयहरु छन्, उनीहरुको मागको आधारमा हामी १५ हप्तासम्म सीप सिकाउने अभियान सञ्चालन गरेका थियौँ । सोही अन्तर्गत विद्यार्थीले सीकेका सीप, कला र क्षमताको आज प्रदर्शनी गरिएको हो । यसले कला क्षेत्रलाई अगाडी बढाउने अवसर प्राप्त भएको छ, ललितकला प्रज्ञा प्रतिष्ठान र काठमाडौं महानगरलालिकाबीचको सहकार्यले विद्यार्थीको लुकेको क्षमतालाई उजार गर्न सहयोग गरेको छ । विद्यार्थीहरुले यसलाई आगामी दिनमा पेशा व्यवसाय रुपमा पनि अगाडी बढाउन सक्नुहुन्छ । आगामी वर्ष हामीले प्रदर्शनीको साथै प्रतिष्पर्धात्मक प्रतियोगिता पनि सञ्चालन गर्ने सोच छ ।’ 

ढकालले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा महानगरले यो तालिम सञ्चालन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार महानगरमा ८३ वटा विद्यालय छन् । तीमध्ये ५९ वटा माध्यामिक विद्यालय छन् । उनीहरुको मागको आधारमा महानगरले विभिन्न सीपमुलक तालिम संचालन गर्ने गरेको छ । –न्युज एजेन्सी नेपाल