सोमबार, ०१ भदौ २०८३
सोमबार, २५ साउन २०८३ · समसामयिक
काठमाडौं, भदौ १ । जिन्दगीलाई हेर्ने दृष्टिकोण फेरिदिने, मन छुने र घतलाग्दा शब्दहरूका जादूगर—जनकवि दुर्गालाल श्रेष्ठले यो भौतिक संसारबाट सदाका लागि बिदा लिनुभएको छ। गएराति बुढानीलकण्ठस्थित आफ्नै निवासमा उहाँको ९३ वर्षको उमेरमा निधन भएकाे हाे।
“फूलको आँखामा फूलै संसार, काँढाको आँखामा काँढै संसार...” यो हरफले जतिसुकै कठिन समयमा पनि मानिसलाई सकारात्मक बन्न सिकायो। यही भावनाका प्रणेता श्रेष्ठलाई अभिनन्दन गर्ने सुरुआतमा रहेका साहित्यिक संघसंस्थाहरू अहिले उनको अचानकको निधनले गहिरो शोकमा डुबेका छन्। भव्य सम्मानको तयारी भइरहेका बेला आएको यो खबरले साहित्यिक वृत्त सुनसान बनेको छ।
केही दिनअघि पिसाबसम्बन्धी संक्रमण र शरीरमा अक्सिजनको मात्रा कम भएपछि उहाँलाई काठमाडौंको मोडेल अस्पताल भर्ना गरिएको थियो। आइसियूमा राखेर गरिएको उपचारपछि उहाँको स्वास्थ्यमा सुधार आएको भन्दै चिकित्सकहरूले डिस्चार्ज गरेका थिए। बुढानीलकण्ठस्थित आफ्नै घरमा आराम गरिरहेका बखत स्वास्थ्य अवस्था फेरि अचानक बिग्रिन पुग्यो र उहाँको प्राणपखेरु उड्यो।
पछिल्लो छ दशकभन्दा बढी समयदेखि नेपाल भाषा र नेपाली साहित्यको सेवामा अहोरात्र खटिनुभएका श्रेष्ठले कविता, गीत र सिर्जनामार्फत समाजलाई सधैँ झक्झकाउनुभयो। नेपाल भाषा परिषद्द्वारा ‘जनकवि’को उपाधिबाट विभूषित उहाँलाई नेपाली साहित्यमा पुर्याएको अतुलनीय योगदानको कदरस्वरूप २०६७ सालमा प्रतिष्ठित जगदम्बा–श्री पुरस्कार प्रदान गरिएको थियो। शारीरिक रूपमा उहाँ आज हामीमाझ नहुँदा पनि उहाँले कोरेका हरफहरू र गाएका गीतहरू नेपाली माटो र नेपाली जनमानसमा सधैँ अमर रहनेछन्।