logo-image

सोमबार, ०१ भदौ २०८३

सुपरहिट चलचित्र ऊनको स्वीटर को दोस्रो भाग निर्माण घोषणा, बलिउडका पियूष मिश्रा पनि प्रमुख भूमिकामा

सोमबार, ०१ भदौ २०८३ · मनोरञ्जन

सुपरहिट चलचित्र ऊनको स्वीटर को दोस्रो भाग निर्माण घोषणा, बलिउडका पियूष मिश्रा पनि प्रमुख भूमिकामा


काठमाडौं, भदौ १ । २०८२ सालको ब्लकबस्टर चलचित्र 'ऊनको स्वीटर' को सिक्वेल निर्माण हुने भएको छ । शनिबार काठमाडौंमा आयोजित तेस्रो ’इन्फा इन्टरनेशनल नेपाली फिल्म अवार्ड’को मञ्चबाट यस चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो । सिक्वेलको नाम ’कलेजी – ऊनको स्वीटर’ राखिएको छ । आगामी दशैँपछि छायांकन सुरु हुने यस चलचित्रलाई सन् २०२७ मा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षले राखेको छ ।

सामाजिक सञ्जालमा आफ्नो चलचित्रको शीर्षक डिजाइन सार्वजनिक गर्दै निर्देशक नवीन चौहानले 'ऊनको स्वीटर’को संसार नयाँ आशा, नयाँ कथा र नयाँ यात्रासहित फेरि फर्किन लागेको बताएका छन् । उनले लेखेका छन्, “प्रिय दर्शकहरू, तपाईंहरूले माया गरेर मनमा सजाउनु भएको 'ऊनको स्वीटर' को संसार फेरि फर्किँदैछ नयाँ आशा, नयाँ कथा र नयाँ यात्रासहित । 'कलेजी – ऊनको स्वीटर’ अब यो केवल एउटा फिल्मको सिक्वेल होइन, पात्रहरूको जीवन र उनीहरूको अधुरो यात्राको अर्को अध्याय हो ।  यसपटकको यात्रामा चर्चित भारतिय कलाकार पियुष मिश्रा पनि हामीसँग जोडिनुभएको छ । उहाँको उपस्थितिले यो कथालाई अझ विशेष बनाउने हाम्रो विश्वास छ ।

चौहानले दर्शकको अत्यधिक माग र पर्खाइलाई सम्बोधन गर्न सिक्वेल निर्माण गर्न लागिएको बताए। उनले भने, “यो पटक हामीले ’ऊनको स्वीटर’को यात्रालाई अझ फराकिलो ढङ्गले उजागर गर्ने कोसिस गरेका छौँ । धेरै दर्शकले फिल्म आधा अधुरो भयो, पूरा कथा हेर्न चाहन्छौँ भनेर हामीलाई एकदमै आग्रह गर्नुभएको थियो । धेरै पटक विभिन्न बहाना बनाएर टार्ने प्रयास पनि ग¥यौँ । तर, अब भने ’ऊनको स्वीटर’ को नयाँ यात्रा सुरु गर्दैछौँ ।“ ’सीमानाभन्दा माथि हुन्छ कला’ भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै अगाडि बढ्न लागेको यस चलचित्रमा धरणीधर र फूलको अधुरो प्रेमकथा सिक्किमबाट सुरु हुने निर्देशक चौहानले जानकारी दिए ।

यस सिक्वेलमा पनि अघिल्लो चलचित्रकै हिट जोडी विपिन कार्की (धरणीधर) र मिरुना मगर (फूल) मुख्य भूमिकामा दोहोरिने भएका छन् । उनीहरूका साथै एलेक्स पारस र परीक्षा लिम्बूको पनि यस चलचित्रमा मुख्य भूमिका रहनेछ। यसका अलावा, भारतका चर्चित लेखक तथा दिग्गज अभिनेता पियूष मिश्राले पनि यस चलचित्रमा अभिनय गर्ने विशेष जानकारी गराइएको छ । लामो समय लगाएर स्क्रिप्ट पढिसकेपछि र ’ऊनको स्वीटर’ हेरिसकेपछि मिश्राले यस चलचित्रमा काम गर्न तयार भएको निर्देशक चौहानले जनाए । अभिषेक सुवेदीको सह–लेखन, नवीन चौहानको लेखन तथा निर्देशनमा बन्ने यस चलचित्रको प्राविधिक तथा अन्य टिम चाँडै सार्वजनिक गरिने बताइएको छ भने नेपाल र भारतका प्राविधिकहरूको संलग्नता रहनेछ ।

प्रेमकथामा आधारित यसको अघिल्लो भाग 'ऊनको स्वीटर' ले घरेलु बक्स अफिसमा १२ करोडको सानदार व्यापार गर्दै २०८२ सालको सुपरहिट चलचित्र बनेको थियो । नेपालमा मात्र नभई भारतका सिनेमाघरहरूमा समेत यस चलचित्रले डेढ करोड भारु (२ करोड ४० लाख नेरु) कमाउँदै ५१ दिन मनाउन सफल भएको थियो । उक्त चलचित्रमा समावेश ’फूल’, ’मखमली’, ’काफ्ले’ र ’चाईनेजो जिन्दगानी’ जस्ता गीतहरू दर्शक तथा श्रोतामाझ आज पनि निकै लोकप्रिय छन् । 

राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेत्रीको अवार्ड जितेको यस चलचित्रले शनिबार इन्फामा उत्कृष्ट निर्देशक, लेखक, अभिनेता, अभिनेत्री, गीत, संगीत सहित नौवटा अवार्ड जितेको थियो । यस चलचित्रले कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेताको साथै नेपाल क्रिटिक्स अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक, लेखक र ब्याकराउन्ड म्युजिक अवार्ड जितेको थियो भने हालसम्म १९ वटा अवार्ड चुमिसकेको छ ।