logo-image

आइतबार, ३१ साउन २०८३

प्लास्टिक सर्जरी अब सौन्दर्यसँगै जटिल रोग र दुर्घटनामा जीवन बचाउने प्रभावकारी माध्यम बन्दै

आइतबार, ३१ साउन २०८३ · समसामयिक

प्लास्टिक सर्जरी अब सौन्दर्यसँगै जटिल रोग र दुर्घटनामा जीवन बचाउने प्रभावकारी माध्यम बन्दै



काठमाडौं, साउन ३१ । प्लास्टिक सर्जरी अब सौन्दर्यप्रसाधनको क्षेत्रमा मात्र सीमित नरही दुर्घटना, आगलागी, क्यान्सर र जन्मजात समस्या भएका बिरामीको ज्यान बचाउने तथा शरीरको पुनर्निर्माण गर्ने प्रभावकारी उपचारका रूपमा विकसित भएको चिकित्सकहरूले बताएका छन् । 
भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्लास्टिक सर्जरी, रोबोटिक शल्यक्रिया र कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको पछिल्लो प्रगतिबारे जानकारी दिँदै चिकित्सकहरूले यो कुरा स्पष्ट पारेका हुन् । सम्मेलनमा अपोलो अस्पतालका प्लास्टिक सर्जरी विभागका वरिष्ठ परामर्शदाता डा. कुलदीप सिंहले पछिल्लो एक दशकमा प्लास्टिक सर्जरीको क्षेत्र नाटकीय रूपमा फराकिलो बनेको बताए । उनका अनुसार यो शल्यक्रिया अहिले गम्भीर रूपमा जलेका बिरामी, क्यान्सरपछिको पुनर्निर्माण, गम्भीर दुर्घटनापछि शरीरका अंगहरूको कार्यक्षमता पुनःस्थापना, र जन्मजात विकृतिहरूको उपचारमा अत्यन्त प्रभावकारी साबित भएको छ ।
विशेषगरी शरीरको ६० देखि ७० प्रतिशतसम्म भाग जलेका बिरामीको उपचारमा समयको भूमिका निर्णायक हुने डा. सिंहले बताए । उनका अनुसार उपचारको प्रारम्भिक २४ देखि ३६ घण्टा अत्यन्तै महत्वपूर्ण हुन्छ, जहाँ मृत छाला (डेब्रीडमेन्ट) हटाउने प्रक्रिया, छाला बैंकबाट प्राप्त ’डेडिकेटेड स्किन’ को प्रयोग र आधुनिक घाउ व्यवस्थापनले उनीहरूको जीवन बचाउन सहयोग पुर्याउँछ । उनले भने, “हामी पछिल्ला वर्षहरूमा यस्ता बिरामीको उपचारमा उल्लेखनीय सफलता हासिल गरेका छौं, विशेषगरी प्रारम्भिक चरणको उचित व्यवस्थापनले नतिजा निकै सुधारिएको छ ।” त्यसले बिरामीको जीवन बचाउनुका साथै उनीहरूको शारीरिक क्षमता र जीवनस्तर पुनःस्थापित गर्न पनि मद्दत पुर्याउने उनको भनाइ छ ।
त्यस्तै, जनरल सर्जरी विभागका वरिष्ठ परामर्शदाता डा. अरुण प्रसादले रोबोटिक शल्यक्रिया र एआईको भूमिकालाई प्रकाश पारे । उनका अनुसार रोबोटिक प्रणालीले उच्च क्षमताको त्रिआयामिक दृश्य, उपकरणको सूक्ष्म नियन्त्रण, र चिकित्सकका हातको चाललाई अत्यन्त परिष्कृत रूपमा प्रस्तुत गर्दै शल्यक्रियालाई अझ सटीक, न्यून चिरफार र छिटो पुनःस्थापना गर्न सहयोग गर्छ । साथै, एआई प्रविधिले रोग पहिचान र निदानलाई थप प्रभावकारी बनाएर चिकित्सकको निर्णय क्षमतालाई सघाउने उनले बताए। अपोलो अस्पतालले आफ्नो प्लास्टिक सर्जरी विभागमा सौन्दर्य शल्यक्रियासँगै क्रेनियोफेसियल, माइक्रोसर्जरी, हातको शल्यक्रिया र जलेका बिरामीको उपचारजस्ता विस्तृत सेवाहरू प्रदान गर्दै आएको छ ।
अपोलोको प्रतिबद्धता र विश्वव्यापी उपस्थिति
अस्पतालले पत्रकार सम्मेलनमार्फत नेपाल तथा दक्षिण एसियाली क्षेत्रका बिरामीहरूका लागि आधुनिक प्रविधिसहितको अन्तर्राष्ट्रियस्तरको उपचार सेवा विस्तार गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ ।
हाल अपोलो समूहअन्तर्गत ७६ अस्पताल, २० हजारभन्दा बढी शय्या, २,३८२ डायग्नोस्टिक केन्द्र र ७ सयभन्दा बढी टेलिमेडिसिन केन्द्रहरू सञ्चालनमा रहेका छन्। समूहले हालसम्म ३ लाखभन्दा बढी एन्जियोप्लास्टी र २ लाखभन्दा बढी शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिसकेको जनाएको छ । प्रविधि, उपकरण र उपचार विधिमा निरन्तर अनुसन्धान र लगानी गर्दै यसअघि उपचार असम्भव मानिएका अवस्थाका बिरामीलाई समेत नयाँ विकल्प उपलब्ध गराइरहेको चिकित्सकहरूले बताएका छन् ।