logo-image

सोमबार, ०१ भदौ २०८३

विद्युतमा लगाइएको भ्याट र महशुल वृद्धिको विरोध गर्दै उज्यालो नेपाल पार्टीद्वारा आन्दोलनको घोषणा

सोमबार, ०१ भदौ २०८३ · समसामयिक

विद्युतमा लगाइएको भ्याट र महशुल वृद्धिको विरोध गर्दै उज्यालो नेपाल पार्टीद्वारा आन्दोलनको घोषणा


काठमाडौं, भदौ १ ।  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत, सिंचाई र सार्वजनिक सेवामा लगाएको कर वृद्धिको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गर्नुभएको छ । 
दुई तिहाइ बहुमतको सरकारले ल्याएको बजेटले आम जनता र न्युन वर्गीय श्रमिकलाई मारमा पारेको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो । माईतीघरमा हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले सरकारले घरायसी विद्युतमा ५ प्रतिशत र उद्योग, खानेपानी तथा सिंचाईमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर किसान र उपभोक्तामाथि अन्याय गरेको बताउनु भयो । अध्यक्ष घिसिङले न्युन आय भएका राइड शेयरिङमा आबद्ध युवाहरूमाथि ५ प्रतिशत भ्याट र व्यक्तिगत आयकर थोपरिएको तर उच्च पदस्थ सांसदहरूको करको दर न्युन रहेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले सरकारको कर नीति मध्यम र न्युन वर्गीय जनताको हितविपरीत रहेको दाबी गर्नुभयो । विद्युत खपत बढाउन र ग्यासको परनिर्भरता घटाउन सरकारले ठोस योजना ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । ईभीमा भन्सार दर बढाइनु र आत्मनिर्भर अर्थतन्त्रको दिशामा अवरोध पु¥याउनु गलत नीति भएको उहाँको तर्क छ । 
उहाँले भन्नुभयो, ‘किसानले प्रयोग गर्ने सिंचाइको विद्युत महसुल निःशुल्क गर्नुपर्नेमा उल्टै १३ प्रतिशत भ्याट थपिनु संवेदनशील विषय हो । शिक्षा र स्वास्थ्यमा जनदबाबपछि भ्याट हटाइए पनि विद्युतजस्तो अत्यावश्यक सेवामा अझै कायमै राखिएको छ । अहिले ग्यासमा लाइन बस्नुपर्ने अवस्था छ, जब कि इन्डक्सन चुल्हो प्रयोग गर्दा ५० प्रतिशत सस्तो पर्छ । इन्डक्सन र चार्जिङ स्टेसनले ट्रान्सफर्मर पड्किन्छ भन्नु भ्रम फैलाउने काम हो । यसले ईभी (विद्युतीय सवारी) प्रयोगकर्तालाई निरुत्साहित गर्दछ ।’
घिसिङले डेडिकेटेड र ट्रंक लाइनको अर्बौं रुपैयाँ वक्यौता उठाउनु पर्ने मागसमेत दोहो¥याउनु भयो । आफू विद्युत प्राधिकरणमा रहँदा वक्यौता उठाउन खोज्दा सरकारले हटाएको स्मरण गर्दै उहाँले अहिले पनि विभिन्न समिति बनाएर सो रकम मिनाहा गर्न खोजिएकोमा खबरदारी गर्नुभयो । विद्युतमा लगाइएको भ्याट फिर्ता गर्न र ऊर्जा क्षेत्रको खपत बढाउने स्पष्ट कार्ययोजना ल्याउन माग गर्दै उज्यालो नेपाल पार्टीले एक महिना लामो देशव्यापी अभियान सञ्चालन गरेको छ । –न्युज एजेन्सी नेपाल

ताजा समाचार