बिहिबार, २२ असोज २०८३
बिहिबार, २२ असोज २०८३ · समसामयिक
भक्तपुर, असोज २२ । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडको ११औँ वार्षिक साधारणसभा सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित रिसोर्टको सभाहलमा सम्पन्न भएको छ ।
साधारणसभाले कम्पनीको जारी पुँजीको ३० प्रतिशत अर्थात् १६ लाख २० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रस्ताव अघि बढाएको छ । आईपीओ निष्कासनको अनुमति माग्दै कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदनसमेत दिइसकेको जनाएको छ । सभामा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले डोलेश्वर क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई व्यवस्थित रूपमा विकास गर्न रिसोर्टको भूमिका महत्वपूर्ण रहेको बताए ।
साधारणसभाले रामनाथ मैनाली, बुद्धिप्रसाद पोखरेल, डोरबहादुर भण्डारी, सृष्टि पोखरेल, छविलाल लुइँटेल र ध्रुवराज पोख्रेललाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । निर्वाचित सञ्चालक समितिको पहिलो बैठकले रामनाथ मैनालीलाई अध्यक्ष र टिकाध्वज भण्डारीलाई स्वतन्त्र सञ्चालकमा चयन गरेको छ ।
२०७२ सालदेखि सञ्चालनमा आएको रिसोर्टले आईपीओबाट प्राप्त पुँजीलाई रिसोर्ट विस्तार, पूर्वाधार विकास तथा चारतारे स्तरमा स्तरोन्नति गर्न प्रयोग गर्ने योजना बनाएको छ । थप आवासीय कोठा, स्विमिङ पुल, स्पा, ज्याकुजी, सेमिनार हल तथा मनोरञ्जन क्षेत्र विस्तार गर्ने कम्पनीको लक्ष्य छ ।
त्यस्तै, पर्यटनसँगै कृषि, ऊर्जा, उद्योग, पूर्वाधार, स्वास्थ्य, शिक्षा तथा अन्य उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै शेयरधनीलाई प्रतिफल दिने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।