logo-image

बिहिबार, २२ असोज २०८३

भक्तपुरको सल्लाघारीमा ‘दसैँ रमाइलो महोत्सव–२०८३’ सुरु, उपभोक्ताको भिडभाड बढ्ने अपेक्षा

बिहिबार, २२ असोज २०८३ · समसामयिक

भक्तपुरको सल्लाघारीमा ‘दसैँ रमाइलो महोत्सव–२०८३’ सुरु, उपभोक्ताको भिडभाड बढ्ने अपेक्षा

भक्तपुर, असोज २२ । नजिकिँदै गरेको बडादसैँलाई लक्षित गर्दै उपभोक्ताहरूलाई एकै ठाउँमा सहज, सुलभ र गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यले भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा ‘दसैँ रमाइलो महोत्सव–२०८३’ हिजो बुधबारदेखि औपचारिक रूपमा सुरु भएको छ। औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालको आयोजनामा सञ्चालित यस महोत्सवको सम्पूर्ण तयारी पूरा भई मेला अहिले सञ्चालनमा आएको हो।

असोज ३० गतेसम्म सञ्चालन हुने यस मेलामा उपभोक्ताका लागि विशेष गरी गुणस्तरीय खाद्यान्न र लत्ताकपडा सहज तथा सर्वसुलभ मूल्यमा उपलब्ध गराइएको छ। मेलामा करिब ७० वटा स्टलहरू रहेका छन् भने अवधिभर दैनिक रूपमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन हुनेछन्।

मेला आयोजक समितिका संयोजक संगम लामाका अनुसार यस महोत्सवमा एक लाखभन्दा बढी उपभोक्ताको आगमन हुने अपेक्षा गरिएको छ। मेलामा दैनिक जीवनमा प्रयोग हुने खाद्यान्न र लत्ताकपडासँगै अटोमोबाइल, जुत्ता–चप्पल, कृषि तथा हस्तकलाका सामग्रीलगायत विभिन्न वस्तुहरूको प्रदर्शनी तथा बिक्री वितरण भइरहेको छ।

मेला अवलोकन गर्न आउनेहरूको मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, झुला, नाउ, मिनी बञ्जी जम्प, वाटर बल, मिकी माउस र ट्राम्पोलिनलगायतका विभिन्न खेलकुद तथा मनोरञ्जनका सामग्रीहरू राखिएका छन्।

साथै, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक सांस्कृतिक प्रस्तुति, हास्यव्यङ्ग्य, गीत–गायन र हरेक दिन खुला नृत्य प्रतियोगितासमेत आयोजना गरिनेछ। यस महोत्सवले भक्तपुरको आन्तरिक पर्यटनको विकास हुनुका साथै स्थानीय उत्पादन, व्यापार, कला–संस्कृति तथा पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ताजा समाचार