logo-image

शुक्रबार, ०४ वैशाख २०८३

‘नेपालको डीएनएमै प्रकोप छ, व्यवस्थापकीय चुस्तता नै हाम्रो विकल्प हो’: प्रजिअ अर्याल

शुक्रबार, ०४ वैशाख २०८३ · समसामयिक

‘नेपालको डीएनएमै प्रकोप छ, व्यवस्थापकीय चुस्तता नै हाम्रो विकल्प हो’: प्रजिअ अर्याल

चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपालको भौगोलिक र मौसमी अवस्थितिका कारण विपद् व्यवस्थापनमा चुस्त र स्मार्ट कार्य नै अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन् ।

 

सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको २२ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले नेपाल जस्तो सिमित स्रोत साधन भएको देशले पूर्व तयारीमा ठूलो लगानी गर्न नसक्ने यथार्थलाई स्वीकार्दै उद्धार र राहतमा व्यवस्थापकीय चुस्तता अपनाउनु नै बुद्धिमतापूर्ण विकल्प भएको बताए ।

विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलले पुर्याएको योगदानको कदर गर्दै उनले सुरक्षाकर्मीहरूले गरिरहेको कार्यलाई ‘उत्कृष्ट र स्मार्ट’ को संज्ञा दिए । अर्यालले विपद्को समयमा एपिएफ संस्थाप्रति आम नागरिकको निकै ठूलो अपेक्षा रहने तर यथार्थमा स्रोत साधनको अभावका बीच काम गर्नुपर्ने बाध्यता रहेको बताए ।

 

प्रजिअ अर्यालले भने, ‘वर्षा होस् वा हिउँद, हिमालदेखि तराईसम्म नेपाल प्रकोपको दृष्टिकोणले अत्यन्तै संवेदनशील स्थानमा छ । यस्तो लाग्छ, प्रकोप नेपालको डीएनएमा छ । देशका विभिन्न स्थानमा खटिनुहुने सशस्त्र प्रहरीका साथीहरूले जुन उत्साहका साथ कार्य गर्नुभएको छ, त्यो साँच्चै प्रशंसनीय र उदाहरणीय छ ।’

शिक्षालयलाई आगामी दिनमा अझ परिष्कृत र सुविधा सम्पन्न बनाउनुपर्नेमा अर्यालले जोड दिए । उनले संगठन प्रमुखलाई यस शिक्षालयलाई साधन स्रोत र जनशक्तिले युक्त बनाएर विपद् व्यवस्थापनको क्षेत्रमा ‘सेन्टर अफ एक्सिलेन्स’ र ‘स्मार्ट अर्गनाइजेसन’को रूपमा विकास गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्न आग्रहसमेत गरेका छन् ।

न्युज एजेन्सी नेपाल