logo-image

बुधबार, २० साउन २०८३

चन्द्रमामा ठोक्किँदै स्पेसएक्सको रकेट, पृथ्वीलाई खतरा छ कि छैन?

बुधबार, २० साउन २०८३ · समसामयिक

चन्द्रमामा ठोक्किँदै स्पेसएक्सको रकेट, पृथ्वीलाई खतरा छ कि छैन?

काठमाडौं, साउन २० । अमेरिकी कम्पनी स्पेसएक्सको प्रयोगपछि अन्तरिक्षमा परित्याग गरिएको रकेटको माथिल्लो भाग बुधबार चन्द्रमामा ठोक्किने भएको छ। वैज्ञानिकहरूका अनुसार रकेट करिब ८,७०० किलोमिटर प्रतिघण्टाको गतिमा चन्द्रमाको आइन्स्टाइन क्रेटर नजिक ठोक्किनेछ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अन्तरिक्षमा परित्याग गरिएको स्पेसएक्सको फाल्कन–९ रकेटको माथिल्लो भाग बुधबार अमेरिकी समयअनुसार बिहान २:३५ बजे (नेपाली समयअनुसार दिउँसो १२:२० बजे) चन्द्रमाको सतहमा ठोक्किने अनुमान गरिएको छ। वैज्ञानिकहरूका अनुसार यो ठक्करबाट चन्द्रमामा नयाँ खाल्डो बन्नुका साथै ठूलो मात्रामा धुलो र ढुंगा अन्तरिक्षमा उड्ने अपेक्षा गरिएको छ। यसबाट करिब २७ मिटर चौडा र ५ मिटर गहिरो खाल्डो बन्ने अनुमान गरिएको छ।

यो दुर्घटना नियोजित नभई अन्तरिक्षमा भौतारिएको रकेटको कक्ष परिवर्तन हुन नसक्दा भएको हो। वैज्ञानिकहरूका अनुसार ठक्करबाट निस्कने धुलो केही समयसम्म टेलिस्कोपबाट अवलोकन गर्न सकिनेछ।

नासाको लुनार रिकोनिसेन्स अर्बिटर र दक्षिण कोरियाको दानुरी अर्बिटरले घटनास्थलको अघिपछि तस्बिर खिचेर अध्ययन गर्नेछन्। अनुसन्धानकर्ताहरूले यस घटनाबाट भविष्यमा चन्द्रमामा सञ्चालन हुने मानव तथा रोबोटिक अभियानमा अन्तरिक्ष फोहोरले पार्न सक्ने जोखिमबारे थप जानकारी प्राप्त हुने अपेक्षा गरेका छन्।

विशेषज्ञहरूले चन्द्र अभियान बढ्दै गइरहेका बेला परित्यक्त रकेट र अन्य अन्तरिक्ष फोहोरको प्रभावकारी व्यवस्थापन तथा निगरानी आवश्यक रहेको बताएका छन्।