logo-image

बुधबार, २० साउन २०८३

प्रधानमन्त्रीको आदेश छ भन्दै सेनाको जग्गामा डोजर: सांसद राजुनाथ पाण्डेको कदमको सर्वत्र आलोचना

मङ्गलबार, १९ साउन २०८३ · समसामयिक

प्रधानमन्त्रीको आदेश छ भन्दै सेनाको जग्गामा डोजर: सांसद राजुनाथ पाण्डेको कदमको सर्वत्र आलोचना

 

काठमाडौं, साउन १९ ।  काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ माकलबारी क्षेत्रमा सडक विस्तारका क्रममा नेपाली सेना र काठमाडौँ निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेबीच भएको विवादको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

सार्वजनिक भिडियो अनुसार स्थलगत रूपमा खटिएका सेनाका क्याप्टेनले आवश्यक कानुनी प्रक्रिया पूरा नभएसम्म र आधिकारिक लिखित पत्र नआएसम्म काम रोक्न अनुरोध गरेका थिए। तर, सांसद पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफल भइसकेको र माथिल्लो निकायको स्पष्ट आदेश रहेको दाबी गर्दै सेनाको अनुरोधलाई पूर्ण रूपमा बेवास्ता गरे।

सैनिक स्रोतका अनुसार नेपाल ट्रस्टको स्वामित्वमा रहेको तथा सैनिक परिसर नजिकको पर्खाल हटाउने विषयमा सेनाले आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्ने धारणा राखेपछि केहीबेर तनावको अवस्था सिर्जना भएको थियो।

यस घटनापछि नेपाली सेनाले सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको जनाएको छ। स्रोतका अनुसार प्रधानसेनापति अशोकराज सिग्देलले घटनाबारे प्रधानमन्त्रीसँग सीधै छलफल गरिसकेका छन्।

वडा अध्यक्ष जयराम महतका अनुसार साँघुरो सडकका कारण वर्षौँदेखि आवतजावतमा सास्ती व्यहोर्दै आएका स्थानीयवासीले वि.सं. २०६७ देखि नै यो सडक खोल्न र फराकिलो बनाउन माग गर्दै आएका थिए। तर, स्थानीयको समस्या समाधान गर्दा सरकारी निकाय र सेनासँग आवश्यक कानुनी समन्वय गरेर मात्र अघि बढ्नुपर्ने विश्लेषकहरूको तर्क छ।

यसैबीच, सांसद राजुनाथ पाण्डेले एक विज्ञप्ति जारी गर्दै माकलबारी बस स्ट्यान्डदेखि देसे जाने सडकअन्तर्गत नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको पर्खाल हटाउने क्रममा उत्पन्न असहज अवस्था समाधान भई सडक विस्तारको काम सफलतापूर्वक सम्पन्न भएको स्पष्ट पारेका छन्।

उनले स्थानीयवासीको लामो समयदेखिको समस्या सम्बोधन गर्ने उद्देश्यले नै सडक विस्तार अघि बढाइएको उल्लेख गर्दै घटनाबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका विषयहरूप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन्। हाल दुवै पक्ष र सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय र छलफल जारी रहेको बताइएको छ।

भाइरल भिडियोमा सांसद पाण्डेले ड्युटीमा रहेका सैन्य अधिकारीलाई हप्काउँदै र दबाब दिँदै गरेको प्रस्ट देखिन्छ। सुरक्षाका दृष्टिले संवेदनशील मानिने सेनाको मातहतमा रहेको जग्गामा यसरी कानुनी स्वीकृति र लिखित अनुमतिविना नै बलपूर्वक डोजर चलाउन अग्रसर भएकाे भन्दै अहिले सांसद राजुनाथ पाण्डेको तीव्र आलोचना भइरहेको छ।