logo-image

शनिबार, २६ वैशाख २०८३

विपद् पूर्वसूचना प्रणालीलाई प्रविधिसँग जोड्दै सबै नागरिकको पहुँचमा पुर्‍याउँछौँः मन्त्री श्रेष्ठ

शुक्रबार, २५ वैशाख २०८३ · समसामयिक

विपद् पूर्वसूचना प्रणालीलाई प्रविधिसँग जोड्दै सबै नागरिकको पहुँचमा पुर्‍याउँछौँः मन्त्री श्रेष्ठ

ललितपुर, वैशाख २५ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले जल तथा मौसम पूवानुमान र जलवायु विश्लेषण सेवालाई थप वैज्ञानिक र परिस्कृत गर्न सरकार लागिपरेको बताउनुभएको छ । 

शुक्रवार ललितपुरमा जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको मनसुन फोरम कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले जल तथा मौसम सेवाको गुणस्तर सुधारका लागि अवलोकन केन्द्रहरुको राष्ट्रिय सञ्जाल विस्तार, दीगो व्यवस्थापन तथा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत प्रभावकारी पूर्वानुमान प्रणाली विकास आवश्यक रहेको बताउनु भयो । उहाँले जल तथा मौसमसम्बन्धी अध्ययन अनुसन्धानलाई प्राथमिकतामा राख्दै स्थानविशेष पूर्वानुमान प्रणाली सञ्चालन गर्न लगानी बढाउनुपर्ने उल्लेख गर्नुभयो । उहाँले पूर्वसूचना प्रणालीलाई नवीन प्रविधिसँग जोड्दै सबै नागरिकको पहुँचमा पु¥याउनको लागि वित्तीय परिचालन गरिने बताउनु भयो । उहाँले जल तथा मौसम सेवाको दायरा विपद् व्यवस्थापनमा मात्रै सिमित नराखी पर्यटन, स्वास्थ्य, भौतिक पूर्वाधार तथा जलस्रोत व्यवस्थापनजस्ता विकासका क्षेत्रसँग समेत जोड्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘जल तथा मौसम विज्ञान विभागको गुणस्तरण बढाउन अवलोकन केन्द्रहरुको राष्ट्रिय सञ्जाल थप विस्तार र दीगो व्यवस्थापन, जल तथा मौसमसम्बन्धी अध्ययन, अनुसन्धान, प्रोत्साहन तथा उच्चतम प्रविधिको प्रयोग गरी प्रारुपहरुको विकास र सञ्चालनमार्फत परिणात्मक स्थान विशेष पूर्वानुमान जारी गर्न लगानी बढाउनुपर्नेछ । जल तथा मौसम पूर्वानुमान र पूर्वसूचना नव प्रवद्र्धन प्रविधिको प्रयोग गरी उपलब्ध सबै सञ्चारमाध्यममार्फत सबैको पहुँचमा पुर्याउने, यस सेवालाई विपद् व्यवस्थापनका साथै पर्यटन, स्वास्थ्य, भौतिक पूर्वाधार, जलस्रोत व्यवस्थापनजस्ता विकासका क्षेत्रहरुको लागि पनि विस्तार गर्ने रहेका छन् । जसको लागि हाम्रो मन्त्रालयले जल तथा मौसम सेवा विस्तारको लागि थप वित्तिय स्रोत परिचालन गर्न तत्परता देखाएको छ । सम विभागलाई समेत यो सम्भावनाको विज्ञान भएको कारण समय समयमा मौसम प्रणाली कतातिर सिफ्ट भइरहेको छ । जलवायु परिवर्तनको कारण यस्तो फेरबदल भइरहेको हो ? यसको कारण पनि खोज्नुपर्ने छ । हामीले जलवायु परिवर्तनको मुद्दालाई अन्तर्राष्ट्रिय बनाउने भनेका छौँ । तर हामीले आफ्नो आन्तरिक स्रोतलाई अझै बलियो बनाउन जरुरी रहेको छ ।’

जलवायु परिवर्तनका कारण मौसम प्रणालीमा देखिएको फेरबदलको वैज्ञानिक अध्ययन आवश्यक रहेको पनि उहाँको भनाइ छ । उहाँले जलवायु परिवर्तनको मुद्दालाई अन्तरराष्ट्रियकरण गर्नु सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै त्यसका लागि आन्तरिक स्रोत र अनुसन्धान क्षमतालाई पनि बलियो बनाउनुपर्नेमा उहाँको जोड छ । –न्युज एजेन्सी नेपाल

 

ताजा समाचार