मङ्गलबार, ०१ मंसिर २०८३
मङ्गलबार, ०१ मंसिर २०८३ · अर्थ
बर्दिया, मंसिर १ । लामो समयदेखि अलपत्र बर्दियाको बबई नदीस्थित जब्दीघाट पुल निर्माणको अन्योल अन्त्य भएको छ। नेपाल–भारत सीमा मुर्तियादेखि गुलरिया हुँदै पूर्व–पश्चिम राजमार्ग जोड्ने महत्वपूर्ण पुल निर्माणका लागि पुनः ठेक्का सम्झौता गरी काम अघि बढाइएको छ।
२०६८ सालमा ठेक्का सम्झौता भई निर्माण सुरु भएको पुल हस्तान्तरण नहुँदै २०७४ सालमा भासिएको थियो। त्यसपछि २०७९ सालमा पुरानो ठेक्का रद्द गरिए पनि स्रोत सुनिश्चितता तथा प्राविधिक समस्याका कारण निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन। लामो समयदेखि अलपत्र रहेको आयोजनाको पुनः ठेक्का सम्झौता भएपछि अब निर्माणले गति लिने अपेक्षा गरिएको छ।
करिब ६८ करोड ४५ लाख रुपैयाँ लागतमा निर्माण हुने पुलको ९ महिनाभित्र डिजाइन स्वीकृत गरी ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पुल निर्माण सम्पन्न भएपछि गुलरिया क्षेत्रका बासिन्दा तथा नेपाल–भारत सीमा र पूर्व–पश्चिम राजमार्ग जोड्ने यातायात आवागमन सहज हुने अपेक्षा गरिएको छ।