logo-image

मङ्गलबार, ०१ मंसिर २०८३

३०० को चिउरा किन्दा १० लाख उपहार, भक्तपुरका राम श्रेष्ठ बने भाग्यशाली विजेता

मङ्गलबार, ०१ मंसिर २०८३ · अर्थ

३०० को चिउरा किन्दा १० लाख उपहार, भक्तपुरका राम श्रेष्ठ बने भाग्यशाली विजेता


भक्तपुर,  मंसिर १ ।  जम्मा ३०० रुपैयाँको चिउरा खरिद गर्दा १० लाख रुपैयाँ उपहार जित्न सफल भई भक्तपुर सूर्यविनायकका राम श्रेष्ठ भाग्यशाली विजेता बनेका छन्। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको 'करदाता प्रोत्साहन उपहार कार्यक्रम' अन्तर्गत उनले १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका हुन्।

श्रेष्ठले स्थानीय 'श्री च्युरा तथा राइस मिल' बाट ३०० रुपैयाँको सामान खरिद गर्दा लिएको आधिकारिक बिलकै आधारमा यो पुरस्कार जितेका हुन्। सरकारले गत कात्तिक १६ गतेदेखि मसान्तसम्मको कारोबारलाई समेटेर सञ्चालन गरेको उक्त योजनामा गोलाप्रथामार्फत श्रेष्ठ विजेता ठहरिएका हुन्। यस कार्यक्रमको औपचारिक घोषणा नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले गरेका थिए।

कर प्रणालीमा आम नागरिकको सहभागिता बढाउने, उपभोक्तालाई हरेक खरिदमा अनिवार्य रूपमा आधिकारिक बिल माग्न प्रोत्साहित गर्ने तथा समग्र करको दायरा विस्तार गर्ने मुख्य उद्देश्यका साथ सरकारले यो योजना अघि सारेको हो।

सामान्य ३०० रुपैयाँको खाजा किन्दा बिल माग्ने बानीले नै श्रेष्ठलाई एकैपटक १० लाख रुपैयाँको मालिक बनाइदिएको छ।