logo-image

आइतबार, ०३ जेठ २०८३

इभी मोटर क्षमता सम्बन्धी स्पष्ट मापदण्ड आवश्यक : नाइमा

आइतबार, ०३ जेठ २०८३ · समसामयिक

इभी मोटर क्षमता सम्बन्धी स्पष्ट मापदण्ड आवश्यक : नाइमा

काठमाडौं, जेठ ३ । नेपालमा विद्युतीय सवारी साधन (इभी) को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न माध्यमबाट भइरहेका टिप्पणी, चर्चा र व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ध्यानाकर्षण भएको जनाएको छ ।

नाइमाले यसअघि अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँग भएको छलफलमा समेत इभी मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्याङ्कन सम्बन्धी स्पष्ट, व्यवहारिक र एकरुप व्यवस्था आवश्यक रहेको धारणा राखेको जनाएको छ । संस्थाका अनुसार नेपालमा आयात भइरहेका विद्युतीय सवारी साधन अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीहरूले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा आयात हुँदै आएका छन् । विश्व ओटोमोबाइल उद्योगमा एउटै मोडलका सवारी साधन विभिन्न देश, नियामकीय संरचना तथा बजार आवश्यकताअनुसार फरक–फरक प्राविधिक स्पेसिफिकेशनमा उत्पादन हुनु सामान्य अन्तर्राष्ट्रिय अभ्यास रहेको नाइमाले उल्लेख गरेको छ ।

नाइमाले केवल वेबसाइटमा देखिएका विवरण, मोडल नाम वा बाह्य जानकारीका आधारमा मोटर क्षमता सम्बन्धी निष्कर्ष निकालिनु प्राविधिक रूपमा विश्वसनीय आधार नहुने स्पष्ट पारेको छ । हाल नेपालमा इभी सवारी साधनसँग सम्बन्धित मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली तथा एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा नआइसकेको नाइमाको भनाइ छ । यही अस्पष्टताले विभिन्न तहमा भ्रम, अन्योल तथा फरक–फरक व्याख्या उत्पन्न गरिरहेको संस्थाले जनाएको छ ।

नाइमाका अनुसार इभी सवारी साधनको प्राविधिक मूल्याङ्कन आधिकारिक उत्पादक कम्पनीबाट जारी प्रमाणित विवरण, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्र तथा स्थापित प्राविधिक मापदण्डका आधारमा गरिनुपर्छ। साथै सम्बन्धित सरकारी निकायहरूबीच एकरुप व्याख्या तथा कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट प्राविधिक कार्यविधि, परीक्षण पूर्वाधार तथा प्रमाणीकरण प्रणाली तत्काल विकास गर्न आवश्यक रहेको संस्थाको धारणा छ । नाइमाले विद्युतीय सवारी साधनलाई नेपालको स्वच्छ ऊर्जा उपयोग, दिगो यातायात प्रणाली विकास तथा हरित अर्थतन्त्र प्रवद्र्धन गर्ने महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरेको छ । इभी क्षेत्रको विस्तारले स्वदेशी स्वच्छ ऊर्जाको उपयोग बढाउने, वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने तथा ऊर्जा र यातायात क्षेत्रको दीर्घकालीन दिगोपनामा सकारात्मक योगदान पु¥याइरहेको उल्लेख गरिएको छ ।

संस्थाले इभी क्षेत्रसँग सम्बन्धित प्राविधिक तथा नीतिगत विषयहरू पर्याप्त अध्ययन, प्रमाणित तथ्य तथा स्थापित अन्तर्राष्ट्रिय अभ्यासका आधारमा विश्लेषण गरिनुपर्ने बताएको छ । अपुष्ट सूचना वा फरक–फरक व्याख्याले बजारमा अनावश्यक अन्योल सिर्जना गर्नुका साथै उपभोक्ता विश्वास, लगानीको वातावरण तथा विद्युतीय सवारी क्षेत्रको दीर्घकालीन विकास प्रक्रियामा असर पार्न सक्ने नाइमाको भनाइ छ । यस सन्दर्भमा नाइमाले सरकार तथा सम्बन्धित निकायसँग समन्वय र सहकार्यलाई निरन्तर सुदृढ गर्दै स्पष्ट, पारदर्शी तथा व्यवहारिक प्राविधिक प्रणाली विकासका लागि रचनात्मक भूमिका निर्वाह गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

नाइमा नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा मञ्च हो । संस्थाले “सबैका लागि गतिशीलता” अवधारणालाई आत्मसात गर्दै सरकार तथा निजी क्षेत्रसँग सहकार्य गरी आर्थिक वृद्धि, औद्योगिक विकास तथा समावेशी पहुँच विस्तारका लागि काम गर्दै आएको जनाएको छ । 

 

ताजा समाचार