सोमबार, १८ जेठ २०८३
मङ्गलबार, १० चैत २०८२ · समसामयिक
ताप्लेजुङ, चैत १० । पाँचथरको हिलिहाङ गाउँपालिका–२ का ३० महिनाका बालक सोहन श्रेष्ठको पाथीभरा दर्शन गरी फर्कने क्रममा सोमबार मृत्यु भएको छ।
दर्शन गरेर फर्कदै गर्दा अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएको ३० मिनेटमै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। मृतक बालकमा पहिलेदेखि नै निमोनियाको समस्या रहेको र उच्च हिमाली क्षेत्रका कारण स्वास्थ्य अवस्था थप बिग्रिएको बताइएको छ।
घटनापछि पाथीभरा क्षेत्र विकास समिति र ताप्लेजुङ प्रहरीले तीर्थयात्रीहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा र स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई यात्राका क्रममा असहज महसुस भएमा तुरुन्तै माथिल्लो फेदी प्राथमिक उपचार केन्द्र, काफ्ले पाटीस्थित पर्यटक प्रहरी डेस्क वा नजिकैको प्रहरी चौकीमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
पदयात्रा मार्गका विभिन्न स्थानमा स्वास्थ्यकर्मीहरू परिचालन गरिएको छ। समितिले आगामी दिनमा यस्ता दुखद घटना हुन नदिन आपतकालीन र सुरक्षाका उपायहरूलाई थप प्रभावकारी बनाउने योजना बनाएको छ।