आइतबार, ०७ भदौ २०८३
आइतबार, ०७ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ ७ । जेन–जी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आफूहरुका माग तत्काल पूरा गर्न ससरकारलाई अल्टिमेटम दिएका छन् ।
जेन–जी शहीद परिवार कल्याणकारी समाज र घाइते जेन–जी नेपाल संयुक्त संघर्ष समितिले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफूहरुका माग तत्काल पूरा नभए फेरि सडक संघर्षमा उत्रिने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा जेनजी शहीद श्रीयम चौलागाईंका पिता तथा जेन–जी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले सरकारले शहीद परिवार र घाइतेका माग सम्बोधनमा गम्भीरता नदेखाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले गृहमन्त्री सुधन गुरुङले सरकार गठन भएको एक महिनाभित्र जेन–जी शहीदका परिवार र घाइतेहरुका सबै माग पूरा गर्ने आश्वासन दिएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको भएपनि अहिलेसम्म ठोस प्रगति नभएको बताउनु भयो । उहाँले आफूहरुका माग सम्बोधन गर्न भन्दै सरकारले पटक पटक समिति गठन गर्ने तर ती समितिले प्रभावकारी रुपमा काम गर्न नसक्दा सरकारप्रति आफूहरुको विश्वास गुम्दै गएको बताउनु भयो । चौलागाईंले घटना भएको १२ महिना बितिसक्दा समेत सरकारले विश्वास गर्ने आधार तयार गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले सरकारले विगतमा शहीद परिवार र घाइतेहरुसँग गरेका सहमतिहरु कार्यान्वयन नगरेको समेत आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘गृहमन्त्री सुधन गुरुङले हामीलाई एक महिनाको समय दिनुहोस् सबै मागहरु पूरा गर्छु भनेको हुनाले हामीले सबै आन्दोलनका कार्यक्रम स्थगित गरेका हौँ । तर अब त्यो अवस्था छैन । हामीहरुले उहाँहरुको भनाइ पनि सुन्यौँ । यो बीचमा धेरै समितिहरु पनि बने सभापतिज्यू शहीद परिवारको कार्यकक्षमा आएर कसर्न दिन शहीदको बाबुलाई अंगालो मारेर तपाईंको छोरो त गयो अब म तपाईंको छोरो हुँ । जे जे गर्नुपर्छ म गर्छु भनेको दिनदेखि उहाँ छ महिना हराउनुभयो । फेरी आएर समिति बनाउँछौं तपाईंका सबै मागहरु समितिसमक्ष राख्नुस् भन्नुभयो । समिति पनि बन्यो तर समितिले कुनै बैठक नै गर्न पाएन । हामीले १२ महिना हुँदा समेत सरकारले विश्वास लाग्ने काम पनि गरेन कुरा पनि गरेन । हामीले सरकारले मन्त्रालयका सहसचिव र घाइते तथा शहीद परिवारका दुई दुई जना सम्मिलित बैठकमा समेत यो समितिले ट्ंग्याएका सबै विषयहरु सरकारले हुबहु पास हुने ग्यारेन्टी दिनुस् भनेर भनेका थियौँ । तर उहाँहरुले मान्नुभएन । हामीहरुले दुःखबाहेक केही पनि पाएनौँ । हामीले गरेको एसएमएसको रिप्लाइ आजसम्म पनि दिनुभएको छैन । अब त्यो समितिलाई विश्वास गरेर हिँड्दाखेरी हाम्रा मागहरु पूरा होलान् त ?’
उहाँले मन्त्रालयका सहसचिव, शहीद परिवार र घाइतेका प्रतिनिधि सम्मिलित समितिमा आफूहरुले समितिले टुंग्याएका विषय सरकारले कार्यान्वयन गर्ने सुनिश्चितता माग गर्दा मन्त्रालयका कर्मचारीहरु पछि हटेको आरोप समेत लगाउनु भयो ।–न्युज एजेन्सी नेपाल