बुधबार, ०९ वैशाख २०८३
बुधबार, ०९ वैशाख २०८३ · समसामयिक
काठमाडौं, वैशाख ९ । सामाजिक सञ्जालमार्फत उत्तेजक र विवादास्पद अभिव्यक्ति दिएको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईँविरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले प्रसाईँले फेसबुकमार्फत निर्वाचनका विषयमा भ्रामक र हिंसात्मक सन्देश फैलाएको, "मर्न र मार्न तयार हुने" जस्ता अभिव्यक्तिले वैमनस्यता बढाएको र निर्वाचन आचारसंहिता उल्लंघन गरेको दाबी गरेको छ।
अभियोग पत्रमा प्रसाईँले पटक–पटक यस्ता कसुर दोहोर्याएको उल्लेख गर्दै थप सजाय र पीडितलाई क्षतिपूर्ति भराउन समेत माग गरिएको छ भने प्रहरी अनुसन्धानले उनका यी गतिविधिले सार्वजनिक शान्ति खल्बल्याउने र सुरक्षा चुनौती बढाउने निष्कर्ष निकालेको छ।
सरकारी वकिलले अदालतमा प्रमाणको रूपमा फेसबुक लिङ्कहरू, स्क्रिनसटहरू, डिभिडी र प्रत्यक्षदर्शी हस्तलाल लामा लगायतको बयान पेस गरेको छ। जिल्ला न्यायाधिवक्ता केदार कुमार अधिकारीद्वारा हस्ताक्षरित अभियोगपत्रमा भनिएको छ- "प्रसाईंको कदमले मतदातामा त्रास सिर्जना गरेको, निर्वाचन प्रक्रिया अवरुद्ध गर्न प्रेरित गरेको र सार्वजनिक विश्वास घटाउन खोजेको देखिन्छ।"
उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ (१) बमोजिम कारबाही माग गरिएको छ, जसमा सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका वा घृणा फैलाउने सामग्री प्रकाशन गरेमा ५ वर्षसम्म कैद वा १ लाख जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।
झापा स्थायी ठेगाना भई भक्तपुर बस्दै आएका प्रसाईं हाल प्रहरीको पक्राउ सूचीमा भए पनि फेला परेका छैनन्। अभियोगपत्रमा उल्लेख भएअनुसार, उनी फरार रहेकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को प्रक्रिया अनुसार मुद्दा अगाडि बढाउन अदालतसमक्ष अनुरोध गरिएको छ। यसअघि उनी आफ्ना छोरा निराजन प्रसाईंको जिम्मा जमानीमा रहे पनि हाल सम्पर्कविहीन छन्।
सभामुखद्वारा कुटनीतिक राहदानी वितरणबारे दलहरुसँग परामर्श
२ घण्टा अगाडि
बैंकमा अधिक तरलता, ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
३ घण्टा अगाडि