logo-image

बिहिबार, ११ असार २०८३

दृष्टिविहीन नागरिकहरु दैनिक सडक आन्दोलनमा, सरकारले बेवास्ता गरेकोमा आक्रोशित

बिहिबार, ११ असार २०८३ · समसामयिक

दृष्टिविहीन नागरिकहरु दैनिक सडक आन्दोलनमा, सरकारले बेवास्ता गरेकोमा आक्रोशित

काठमाडौं,  असार  ११ ।   सडकपेटीमा समेत व्यवसाय गर्न नदिएपछि दैनिक सडक आन्दोलन गर्न बाध्य भएका दृष्टिबिहीनहरुले सरकारप्रति आक्रोश व्यक्त गरेका छन । 
काठमाडौंको माईतीघर मण्डलामा बिहीवार पनि धर्नामा बसेका उनीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर दिएर आफूहरुलाई पनि गाँस, बास र कपासको व्यवस्था सुनिश्चित गर्न सरकारलाई दबाब दिएका हुन् । सरकारले आफूहरुको माग सुनुवाई नगरेपछि दैनिक सडक आन्दोलन गर्न बाध्य हुनुपरेको दृष्टिबिहीन रोजिना अर्यालले बताउनु भयो । उहाँले सरकारले सडकमा व्यवसाय गर्दा पनि आफूहरुलाई जब्बरजस्ती धरपक्कड गरेको भन्दै आपत्ति जनाउनु भयो ।
अर्यालले भन्नुभयो,‘सरकारले शिक्षा, स्वास्थ्य र रोजगारी सरकारले दिनुप¥यो । हामी यसरी सडकमा आउनुपर्ने बाध्यता भयो । सरकारले चाँडो भन्दा चाँडो हाम्रो कुरा सुनोस् । क्षमता हुँदाहुँदै पनि हामी बाध्यताले यहाँ सडकमा उत्रिनुपरेको छ । हाम्रो पनि सडकमा नै बसेर जिविकोपार्जन गरौ भन्ने माग त होइन नि । हामीलाई रोजगारी चाहिएको छ । हामीले हाम्रो बालबालिकालाई पनि राम्रो शिक्षादीक्षा दिनु पाउनुपर्दछ । हाम्रो माग सरकारले चाँडो  भन्दा चाँडो सुनुवाई गरोस् । हामी ध्यानाकर्षण गराउन आएका हौँ ।’
सरकारले सडक व्यवसाय गरेर बसिरहेका उनीहरुमाथि धरपक्कड शुरु गरेपछि विगत ४ दिन यता सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरुको समूहनै माईतीघर मण्डलामा दैनिक बिहान नौ बजेदेखि १२ बजेसम्म ३ घण्टा धर्नामा बस्दै आएका छन् । उनीहरुले आफूहरुलाई गरिखान समेत नदिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्दै आएका छन् । समूहले सरकारले आफूहरुमाथि अत्याचार गरेको उनीहरुको गुनासो थियो । –न्युज एजेन्सी नेपाल