logo-image

सोमबार, १८ जेठ २०८३

अस्ताइन् सङ्गीत आकाशकी स्वरसाम्राज्ञी आशा भोसले

आइतबार, २९ चैत २०८२ · समसामयिक

अस्ताइन् सङ्गीत आकाशकी स्वरसाम्राज्ञी आशा भोसले

मुम्बई,  चैत्र २९ ।  । दशकौँसम्म आफ्ना स्वरको जादुले करोडौँ मुटुको ढुकढुकी बनेकी दिग्गज गायिका आशा भोसले अब रहिनन्। ९२ वर्षको जीवन यात्रामा सङ्गीतलाई नै आफ्नो श्वास र पहिचान बनाएकी यी स्वरकिन्नरीले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास फेरेसँगै सुर र तालको एउटा विशाल मन्दिर आज रित्तो भएको छ।

नौ वर्षको कलिलो उमेरमा पिता गुमाउँदाको पीडा होस् या परिवार धान्नका लागि दिदी लतासँगै हिँडेका ती कठिन बाटाहरू- आशाको जीवन आफैँमा एउटा जीवन्त सङ्घर्षको गाथा थियो। १६ वर्षको उमेरमा जीवनले लिएको अप्रत्याशित मोड र व्यक्तिगत जीवनका अनेकौँ आँधीबेहरीका बाबजुद उनले कहिल्यै हार मानिनन्। उनले आफ्ना आँसुलाई गीतमा ढालिन् र पीडालाई सुरिलो लयमा बदलिन्।

१२ हजारभन्दा बढी गीतमा आफ्नो आत्मा पोखेकी आशाका हरेक शब्दमा एउटा छुट्टै कथा थियो। 'चुरा लिया है' भन्दै दर्शकको मन चोरेकी उनले 'दम मारो दम' भन्दै युवा पुस्तालाई नचाएकी थिइन्। आर.डी. बर्मनसँगको उनको प्रेम र साङ्गीतिक सहकार्यले भारतीय सिनेमालाई जुन उचाइ दियो, त्यो इतिहासका पानामा स्वर्ण अक्षरले लेखिनेछ।

गिनिज बुकदेखि दादा साहेब फाल्के अवार्डसम्म, अनि ग्रामीको मनोनयनदेखि पद्म विभूषणसम्मको सम्मानले उनलाई चुमिरह्यो। तर, उनका लागि सबैभन्दा ठूलो पुरस्कार भनेको श्रोताको माया र सम्मान नै थियो। ९२ वर्षको उमेरमा अस्पतालको शय्याबाट उनले संसारलाई बिदा गर्दा सङ्गीतप्रेमीहरूका आँखा रसाएका छन्।

आशा भोसले भौतिक रूपमा अस्ताए पनि उनले छोडेर गएका हजारौँ कालजयी धुनहरूले उनलाई अमर बनाइरहनेछन्। सङ्गीतको आकाशमा एउटा तारा खसेको छ, तर त्यसको प्रकाशले सङ्गीतको संसारलाई जुगौँसम्म डोहोर्‍याइरहनेछ।