बुधबार, ३१ भदौ २०८३
बुधबार, ३१ भदौ २०८३ · राजनीति
काठमाडौं, भदौ ३१ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठक शुरु भएको छ ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बुधवार बिहान बैठक शुरु भएको हो । बैठकमा विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ । गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो । बाढीपछि विपद् व्यवस्थापन तथा पुनर्निर्माणका लागि प्रभावकारी पहल गर्नुपर्ने माग उठ्दै आएको छ । यसअघि विभिन्न प्रतिपक्षी दलहरूले विपद् प्रभावित क्षेत्रको उद्धार, राहत, पुनस्र्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न सरकारमाथि दबाब दिँदै आएका थिए । बैठकमा सहभागी दलहरूबीच संयन्त्रको संरचना, जिम्मेवारी र विपद् व्यवस्थापनमा यसको भुमिकाबारे छलफल हुने बताइएको छ ।