बुधबार, २१ असोज २०८३
मङ्गलबार, २० असोज २०८३ · समसामयिक
काठमाडौं, असोज २० । दसैँमा घर फर्किने यात्रुको चाप व्यवस्थापन गर्न सरकारले असोज २३ गतेदेखि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला गर्ने भएको छ।
यातायात व्यवस्था विभागले यातायात व्यवसायी, मजदुर संगठन तथा ट्राफिक प्रहरीलगायत सरोकारवालासँग छलफल गरी यस्तो निर्णय गरेको हो। विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार फूलपातीदेखि पूर्णिमासम्म लामो तथा मध्यम दूरीका सवारीसाधनलाई यात्रुको चापअनुसार रिजर्भमा सञ्चालन गर्न रुट परमिट खुला गरिनेछ।
दसैँ अवधिमा ढुवानीका सवारीसाधनले फलफूल, तरकारी, औषधि, खसी–बोका तथा अत्यावश्यक खाद्यान्नलगायत सामग्रीलाई प्राथमिकताका साथ ढुवानी गर्ने व्यवस्था गरिएको छ।
यात्रुको सहजताका लागि विभिन्न स्थानमा १५ वटा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। टिकट नपाएको, बढी भाडा लिएको वा टिकटमा कालोबजारी भएको गुनासो सहायता कक्षमार्फत गर्न सकिनेछ। आवश्यक परे ट्राफिक प्रहरीको १०० नम्बरमा समेत सम्पर्क गर्न सकिने विभागले जनाएको छ।
यातायात व्यवसायीले पनि तोकिएको भाडादरभन्दा बढी रकम नलिन प्रतिबद्धता जनाएका छन्। विभागले बिचौलियामार्फत हुने कालोबजारी नियन्त्रण गरिने जनाएको छ।