logo-image

आइतबार, ०३ जेठ २०८३

‘काठमाडौं फिल्म फेस्टिबल’ को घोषणाका लागि कार्यवाहक प्रमुख डंगोल कान्स प्रस्थान गर्दै

आइतबार, ०३ जेठ २०८३ · समसामयिक

‘काठमाडौं फिल्म फेस्टिबल’ को घोषणाका लागि कार्यवाहक प्रमुख डंगोल कान्स प्रस्थान गर्दै

काठमाडौं, जेठ ३ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्समा आयोजना हुने विश्वप्रसिद्ध ‘कान्स फिल्म फेस्टिबल’ मा सहभागी हुन फ्रान्स जानुहुने भएको छ । महानगरपालिकाले आयोजना गर्न लागेको ‘काठमाडौं फिल्म फेस्टिबल’ को औपचारिक घोषणा तथा अन्तर्राष्ट्रियस्तरमा यसको प्रवद्र्धन गर्ने उद्देश्यले उहाँ फ्रान्स जान लाग्नुभएको हो ।

भ्रमणका बारेमा कार्यपालिका बैठकमा जानकारी दिँदै काईवाहक प्रमुख डंगोलले महानगरपालिकाले सञ्चालन गर्न लागेको फिल्म महोत्सवको विश्वव्यापी प्रचारप्रसार नै आफ्नो भ्रमणको मुख्य एजेण्डा रहेको बताउनु भयो । अन्तर्राष्ट्रिय महोत्सवको पूर्वतयारी स्वरूप महानगरले स्थानीय स्तरमा ‘टोल टोलमा फिल्म महोत्सव’ समेत आयोजना गर्ने तयारी गरेको छ ।

डंगोलकाअनुसार यो कार्यक्रम पूर्णरूपमा समुदायमा आधारित हुनेछ । यस अभियानले टोल स्तरमा पुगेर चलचित्र, संगीत तथा समग्र सिर्जनात्मक उद्योगसँग सम्बन्धित विविध विषयमा विमर्श गर्ने र महोत्सवको रूपमा वातावरण निर्माण गर्ने लक्ष्य राखेको छ । यसले आगामी दिनमा आयोजना हुने ‘काठमाडौँ फिल्म फेस्टिबल’ का लागि सकारात्मक माहोल तयार गर्ने विश्वास लिइएको छ । 

उहाँले भन्नुभयो, ‘कान्स फिल्म फेस्टिबल यो एकदमै सर्ट नोटिसमा यात्रा गर्नुपर्ने भएको छ । एकदमै छोटो समयमा निर्णय गरिएको छ र यसको मुख्य उद्देश्य भनेको हामीले काठमाडौं महानगरपालिकाले काठमाडौं फिल्म फेस्टिबल यसको अनाउन्स गर्ने हाम्रो मुख्य उद्देश्य रहेको छ । र त्यसको साथसाथै यसैका लागि पनि तयारीका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्नेछ जसमा मध्ये टोल टोलमा फिल्म महोत्सव आयोजना हामीले गर्दैछौँ र यो भने कम्प्लिटली कम्युनिटी ड्रिभेन प्रोग्राम हुनेछ र यसको उद्देश्य भनेको टोल टोलमा गएर फिल्म फेस्टिबल गर्दाखेरि फिल्मसँग रिलेटेड संगीतसँग रिलेटेड अझ त्यति मात्र नभएर हाम्रो क्रिएटिभ इन्डस्ट्रीसँग सम्बन्धित विविध विषयमा छलफल गर्ने र महोत्सवका रुपमा नै अघि बढाउने र यसले गर्दाखेरि इन्टरनेसनल फिल्म फेस्टिबल जुन काठमाडौं महानगरपालिकाले हामी गर्दैछौँ र त्यसका लागि मोमेन्टम क्रिएट गर्ने काम पनि गर्नेछ र यसै विषयमा म ट्राभल अथवा यात्रा गरिरहँदा खेरि कार्यवाहकका रुपमा जेष्ठताको आधारमा हामीले वडा नम्बर एकका वडा अध्यक्ष भरतलाल श्रेष्ठज्युलाई उहाँलाई एक्टिङ मेयरको जिम्मेवारी दिएर जानेछौँ ।’

आफ्नो वैदेशिक भ्रमणको अवधिभरका लागि कार्यवाहक प्रमुख डंगोलले कार्यवाहकको जिम्मेवारी हस्तान्तरण गर्नुभयो । ज्येष्ठताका आधारमा वडा नम्बर १ का वडा अध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएर उहाँ कान्सतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । –न्युज एजेन्सी नेपाल