logo-image

सोमबार, १८ जेठ २०८३

दुई मोटरसाइकल ठोक्किएर भीषण आगलागी: एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको जलेर मृत्यु

मङ्गलबार, २४ चैत २०८२ · समसामयिक

दुई मोटरसाइकल ठोक्किएर भीषण आगलागी: एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको जलेर मृत्यु

महोत्तरी, चैत्र २४ । महोत्तरीको जलेश्वर–बर्दिबास सडक खण्ड अन्तर्गत एकडारा गाउँपालिका–५ बथनाहामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर भीषण आगलागी हुँदा तीन जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ। माध्यमिक शिक्षा परीक्षा (SEE) दिएर घर फर्किँदै गरेका विद्यार्थीहरू सवार मोटरसाइकल आज बिहान आपसमा ठोक्किएका थिए।

दुर्घटनामा जलेश्वर नगरपालिका–६ का सुभाष दास, रवि दास र एकडारा गाउँपालिका–३ का अभिषेक मण्डलले ज्यान गुमाएका छन् भने अन्य ३ जना गम्भीर घाइते भएका छन्। विपरीत दिशाबाट तीव्र गतिमा आएका मोटरसाइकल ठोक्किँदा लागेको भीषण आगोले सवारी साधनको नम्बर प्लेट समेत नचिनिने गरी पूर्ण रूपमा नष्ट पारेको छ।

 मंगलबार बिहान करिब ११:३० बजेतिर विपरीत दिशाबाट तीव्र गतिमा आएका दुई मोटरसाइकल एकापसमा ठोक्किएका थिए। ठक्कर लगत्तै इन्धनको ट्याङ्की फुटेर आगो सल्किएको र आगोको लप्का यति तीव्र थियो कि उनीहरूलाई उद्धार गर्ने मौका समेत नपाएकाे प्रत्यक्षदर्शीले बताए।

घाइतेहरूको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ भने यस दुखद घटनाले विद्यार्थीका परिवार र स्थानीय समुदायमा ठुलो शोक छाएको छ।

ताजा समाचार