logo-image

शुक्रबार, ०१ जेठ २०८३

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

शुक्रबार, ०१ जेठ २०८३ · समसामयिक

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

रूपन्देही, जेठ १ । तिलोत्तमा नगरपालिका-१४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २० मिलिग्राम नियन्त्रित लागूऔषध डाईजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र बुप्रेनोर्फिन ४ एम्पुल सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१५ मधवलिया बस्ने २२ वर्षीय दिपेश थारू र सोही नगरपालिका-१४ बस्ने ३२ वर्षीय रबिन गुरूङ रहेका छन् । लागूऔषध नियन्यत्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय मंगलापुरबाट खटिएको प्रहरीले लु.७ प २०९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ शान्तिचौर नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम, गाँजा १९ ग्राम ४ सय ७० मिलिग्राम र नगद १७ हजार ९ सय ५५ रूपैयाँ सहित सोही ठाउँ बस्ने ३५ वर्षीय टेक बहादुर पुनलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी नवलपरासी पश्चिम, सुनवल नगरपालिका-९ स्वाठीबाट नियन्त्रित लागूऔषध स्पास्मो ६४ ट्याब्लेट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ तिलकाना बस्ने ३४ वर्षीय खडक बहादुर रोका र २२ वर्षीय सुमन गन्धर्व रहेका छन् । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले लु.१८ प ७११९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-१ शिविर क्याम्पबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्रासेन २३ ट्याब्लेट सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय रूपेश सार्की, २१ वर्षीय आयुष क्षेत्री र २४ वर्षीय जिवन तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कैलाली, टीकापुर नगरपालिका-१ ब्लक नम्बर १४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम १ सय १० मिलिग्राम र चरेश जस्तो देखिने पदार्थ ७ ग्राम ५६० मिलिग्राम सहित सोही नगरपालिका-७ बैदी बस्ने २० वर्षीय पुष्प साउद समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने ३० वर्षीय कुबेर बनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले बा.७८ प १५१५ नम्बरको स्कुटरमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ९० ट्याब्लेट सहित कास्की पोखरा महानगरपालिका-१४ बस्ने २५ वर्षीय पारस रानाभाटलाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ प २९७ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ कमलडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम, अफिम जस्तो देखिने पदार्थ करिब १६ ग्राम ३ सय ७० मिलिग्राम र डिजिटल तराजु १ थान सहित सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१५ घर भएकी २२ वर्षीया सजिना लामा पाख्रिन समेत ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले सजिनाको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो ।

सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकलीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ५० मिलिग्राम सहित धरान उपमहानगरपालिका-११ बस्ने २२ वर्षीया दिपिका राईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।