logo-image

बिहिबार, ३१ वैशाख २०८३

इजरायलद्वारा लेबनानको सहमारमा हवाई हमलाः १६ जनाको मृत्यु, जनजीवन प्रभावित

बिहिबार, ३१ वैशाख २०८३ · अन्तर्राष्ट्रिय

इजरायलद्वारा लेबनानको सहमारमा हवाई हमलाः १६ जनाको मृत्यु, जनजीवन प्रभावित

काठमाडौं, वैशाख ३१ ।  इजरायली सेनाले लेबनानको बेका प्रान्तस्थित सहमार शहरमा तिब्र हवाई हमला गरेको छ । यस आक्रमणका कारण स्थानीय बासिन्दाहरू थातथलो छोडेर सुरक्षित स्थानतर्फ पलायन हुन बाध्य भएका छन् ।

इजरायली सेनाले सो क्षेत्र खाली गर्न चेतावनी दिएको केही समयमै युद्धविमानहरूले बमबारी शुरु गरेका थिए । आक्रमणका कारण सहमारका कैयौँ घरहरूमा आगलागी हुनुका साथै भौतिक संरचनामा ठूलो क्षति पुगेको छ । गत अप्रिल १६ मा युद्धविराम सम्झौता भएपनि दक्षिण र पूर्वी लेबनानका विभिन्न क्षेत्रमा आक्रमणको सिलसिला जारी रहेको छ । मंगलवार मात्रै दक्षिण लेबनानमा भएका विभिन्न इजरायली आक्रमणहरूमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् । आक्रमणको केही समयपछि स्थानीय बासिन्दाहरू आफ्ना क्षतिग्रस्त घर र सम्पत्तिको अवस्था बुझ्न घटनास्थल फर्किएका थिए । 

स्थानीय बासिन्दा दुनिया अलाद्दिनले घरमा क्षति पुगे पनि आफूहरू विचलित नहुने प्रतिक्रिया दिइनुभयो । यसैबीच, लेबनानी अधिकारीहरूले जारी द्वन्द्वका कारण सर्वसाधारणमा गम्भीर मनोवैज्ञानिक असर परिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

लेबनानका स्वास्थ्य मन्त्री रकान नसरुद्दीनले युद्ध प्रभावित नागरिकहरूलाई लक्षित गर्दै मन्त्रालयले २४ सै घण्टा सञ्चालन हुने मानसिक स्वास्थ्य हटलाइन सेवा विस्तार गरेको जानकारी दिए । मन्त्री नसरुद्दीनका अनुसार द्वन्द्व शुरु भएयता हटलाइनमार्फत ३,१८२ वटा कलहरू प्राप्त भएका छन् भने १६८ जनालाई मानसिक स्वास्थ्योपचारका लागि विभिन्न ९ वटा अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको उपचार खर्च मन्त्रालयले नै बेहोर्ने उनले बताए । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार गत मार्च २ देखि हालसम्म इजरायली आक्रमणमा परी लेबनानमा मृत्यु हुनेको सङ्ख्या २ हजार ८ सय ८२ पुगेको छ भने ८ हजार ७ सय ६८ जना घाइते भएका छन् ।